नरैनापुर शिल, एकैदिन फेला परेका ५९ संक्रमित अझैं क्वारेन्टिनमै

बाँकेको नरैनापुर गाउँपालिकामा एकै दिन ५९ जनामा कोरोना संक्रमण देखिएपछि त्रास फैलिएको छ।

गाउँपालिकालाई उच्च जोखिमयुक्त क्षेत्र (रेड जोन) घोषणा गर्दै पूरै गाउँपालिकालाई शिल गर्ने तयारी गरिएको छ।

एकैपटक ४७ जनामा संक्रमण फेला परेपछि सोमवार बेलुका बसेको जिल्ला सुरक्षा समितिको बैठकले गाउँपालिकाका सबै वडाहरुमा हुने अत्यावश्यक काम बाहेकका सम्पूर्ण आवागमनमा रोक लगाउने निर्णय गरेको छ।

पूरै गाउँपालिका क्षेत्रलाई अर्कौ सूचना जारी नहुँदासम्म शिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिएका छन्।

गाउँपालिकाका स्वास्थ्य संयोजक नागेन्द्र साहले भने सिल गरिएको जस्तो अवस्था नरहेको बताएका छन्।

‘मान्छेहरुको आवात जावात कायमै छ,’ साहले भने ‘एकै ठाउँमा यति धेरै संक्रमित फेला परेपछि जति सावधानी अपनाउनु पर्ने हो त्यो अपनाएको देखिएको छैन।’

यसका साथै नयाँ थपिएका ५९ संक्रमितलाई कहाँ लगेर राख्ने भन्ने कुराको पनि अझैं टुंगो लागिसकेको छैन।

एकै पटक ठूलो संख्यामा संक्रमित फेला परेपछि स्थानीय स्तरमै व्यवस्थापन गर्ने तयारी गरिएको भएपनि अझैं स्थानको टुंगो भने लागि नसकेको साहले बताए।

नरैनापुरको लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन अस्पतालका रुपमा विकास गरेर त्यसैमा फेला परेका नयाँ संक्रमितलाई राख्ने कुरा चलेपनि टुंगो लागि सकेको छैन।

स्थान अभावमा फेला परेका नयाँ संक्रमितलाई यो खवर तयार पर्दासम्म स्थनीय विद्यालयहरुमा निर्मित क्वारेन्टिनमै राखिएको छ।

बाँकेको खजुरास्थित २५ बेड क्षमताको कोरोना अस्पताल खाली नभएको हुँदा नयाँ संक्रमितका लागि कुन ठाउँमा आइसोलेसन अस्पताल बनाउने भन्ने बाँकेमा मंगलवार विहानैदेखि छलफल सुरु भएको एक अधिकारीले बताएका छन्।

गाउँपालिकाका स्वास्थ्य उपसंयोजक साहका अनुसार बैशाख २४ गतेदेखि ३१ गतेसम्म भारतको महाराष्ट्र लगाएका विभिन्न सहरवाट मजदुरीमा गएका कुल ८१४ जना फर्किएको र उनीहरु सबैलाई क्वारेन्टिनमा राखेको उनले जानकारी दिए।

किन नरैनापुरमा यतिधेरै संक्रमित फेला परे ? भन्ने प्रश्न गर्दा – साहले भारतबाट एकैपटक ठूलो संख्यामा मानिसहरु फर्केर आउनु र उनीहरुलाई विद्यालयमा निर्मित क्वारेन्टिनमा राखिएपनि ती व्यवस्थित नहुँदा समस्या भएको बताए ।

नरैनापुरमा सोमवार बेलुका ४७ र रातिमा थप १२ जनामा गरि एकै दिन ५९ जनामा संक्रमन पुष्टि भएको छ।

२७० जनाको स्वाब परीक्षण रिपोर्टमा ५९ जनामा कोरोना पुष्टि भएको हो।

यसअघि ४५ जनाको स्वाब परीक्षण गर्दा थप ८ जनामा कोरोना पुष्टि भएको थियो। नरैनापुरमा मात्रै हालसम्म ६७ जनामा कोरोना पुष्टि भइसकेको छ।

जहाँ अझैंपनि ४९९ जनाको नमुना संकलन तथा रिपोर्ट आउन  बाँकी रहेको छ।

नरैनापुरका कुल संक्रमित ६७ जना मध्य नरैनापुर ५ का २५ बर्षीय एक युवकको कोरोनाका कारण मृत्यु भइसकेको छ।

त्यसअघि नै नरैनापुरमा थप ८ जनामा कोरोना पुष्टि भएको थियो।

ती ८ जना संक्रमितलाई आइसोलेसन बेड अभावमा दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पालमा उपचारको लागि ल्याइएको छ। बाँके जिल्ला भर संक्रमितको संख्या ९२ पुगेका छ ।

एक पटक पढ्नुहोस