क्वारेन्टाइनमा पानीसमेत छैन

स्वास्थ्यको बढी ख्याल गरिनुपर्ने र पौष्टिक खाना चाहिने अवस्थामा उनलाई क्वारेन्टाइनको खानाले छाक टर्न मुस्किल भएको छ । ‘गर्मीले बसिनसक्नु छ । खानेपानीसमेत बेलामा पाइँदैन,’ उनले भनिन्, ‘६ दिनदेखि यहाँ छु । अहिलेसम्म कुनै जाँच भएको छैन । यो अवस्थामा दिन काट्न असहज भएको छ ।’

भारतको भदोईबाट ६ दिन साइकल चलाएर आएका राजविराज–१५ का तीन जनालाई पनि सोमबार बिहान उक्त क्वारेन्टाइनमै ल्याइएको थियो । ‘बाटोमा अनेक मान्छे भेटियो, ठाउँ–ठाउँ खाँदै र सुत्दै रात काटेर आइयो । अन्तिममा वडा कार्यालयले क्वारेन्टाइन ल्यायो,’ भदोईबाट आएमध्येका रामचन्द्र मण्डलले भने, ‘यहाँ न पानी छ न साबुन । नुहाउने पानी छैन । ६ दिन अघि लगाएकै लुगामा छु । आफ्नो ज्यान आफैंलाई गन्हाउँछ ।’

नुहाउन नपाएका कारण मण्डलसहित ७ जनाले सोमबार बिहान क्वारेन्टाइनको खाना खाएनन् । उनले क्वारेन्टाइनका कोठा र शौचालय फोहोर रहेको बताए । क्वारेन्टाइनमै रहेकी राजविराज पडरियाकी ६० वर्षीया विन्दादेवीले पिउने पानीसमेत नदिने गरेको बताइन् ।

भारतको लखनउबाट आएका काभ्रेका महेश श्रेष्ठ पनि राजविराजकै क्वारेन्टाइनमा छन् । उनी भन्छन्, ‘केही व्यवस्था छैन । बरु मलाई मेरो घर रहेकै ठाउँको क्वारेन्टाइनमा पठाउने व्यवस्था मिलाइयोस् ।’

राजविराजका नगर प्रमुख शम्भु यादवले जारको पानी व्यवस्था गरिए पनि एक जनाले छोइदिए अर्कोले नखाने गरेका कारण खानेपानीको समस्या देखिएको बताए । ‘ट्युबवेलको पानी कोही खाँदैनन्,’ उनले भने, ‘होटलबाट दाल, भात तरकारी र सलाद दिइएको छ, । दुई छाक खाना, एकपटक नास्ता र बिहान चिया दिइएको छ ।’ उनले सोमबार साँझबाट सबैलाई मिनरल वाटरको बोतल नै दिइएको बताए ।राजविराजको मात्र होइन, जिल्लाका अधिकांश क्वारेन्टाइनहरू मापदण्डअनुसारका छैनन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार १८ वटै स्थानीय तहमा गरी ३७ स्थानमा क्वारेन्टाइन छन् । १ हजार ४५ जनासम्मलाई राख्ने क्षमता ती क्वारेन्टाइनमा सोमबार साँझसम्म ६ सय ५८ जनालाई रािखएको छ । भारतबाट घर आउनेको लर्को नथामिएकाले क्वारेन्टाइनको क्षमता बढाउनुपर्ने देखिएको उनले बताए ।

एक पटक पढ्नुहोस