लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई न्यूनीकरण गर्न सरकारद्वारा गत मार्च २३ तारिखबाट जारी गरेको लकडाउनलाई (जुन १ तारिख) सोमबारबाट केहि खुकुलो पार्ने निणय गरिएको छ । कोरोना भाइरसका कारण बेलायातवासीहरुले इतिहासमै पहिलोपल्ट ७० दिन लामो लकडाउनको अनुभव गरेका छन् । गतवर्ष डिसेम्बरको अन्तिमबाट चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले यतिबेला विश्वलाई नै आक्रान्त बनाएको छ । कोरोना भाइरसकै कारण संसारभरिका ३ लाख ७२ हजारभन्दा बढी मानिसहरुको ज्यान गैसकेको छ भने ६१ लाख ८४ हजार मानिसहरु संक्रमित बनेका छन् ।
सबैभन्दा बढी मानिसहरु मृत्यु हुने मुलुकहरुमा बेलायत युरोपकै पहिलो स्थानमा रहेको छ भने विश्वमा अमेरिकापछि बेलायत दोस्रो स्थानमा पर्दछ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारीअनुसार शनिबारसम्म कोरोना संक्रमणका कारण बेलायतमा ३८ हजारभन्दा बढीको ज्यान गैसकेको छ भने २ लाख ७२ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छ । अझै पनि दैनिक २ सयको हाराहारीमा कोरोनाबाट मानिसहरुको मृत्यु भैरहेको छ भने झन्डै दुई हजार मानिसहरु संक्रमित भैरहेका छन् ।
उत्साहित बेलायातवासीहरु
यस्तो विषम परिस्थितिमा पनि नवौं हप्ता लामो लकडाउनलाई बेलायती प्रधानमन्त्री बोरिस जोन्सनद्वारा सोमबारबाट लकाडाउनलाई केहि सहज पार्न गरिएको घोषणाबाट बेलायतवासीहरु उत्साही बनेका छन् । सरकारले गरेको यस्तो घोषणा अघि नै बेलायतका पार्क तथा सामुन्द्रिक किनाहरुमा लकडाउनको बेवास्ता गर्दै आएका बेलायतवासीहरुले लकडाउन सहजीकरणको निर्धारित समय अगावै व्यापक रुपमा लकडाउनको नियम उल्लंघन गरेका छन् । दुई सय माइलभन्दा बढीको यात्रा पार गरेर समुन्द्रको किनारमा जानेहरुलाई शनिबार बीच बाटोबाटै प्रहरीले घर फर्काइदिएको थियो ।
त्यस्तै बेलायतकै सुन्दर एवम् रमणीय चट्टानसहितको समुन्द्री किनार डर्डलडोरलाई अनिश्चितकालका लागि बन्द गरिएको छ । उक्त स्थानमा शनिबार हजारौंको संख्यामा मानिसहरु जम्मा भएका थिए । त्यहाँको आकर्षकको रुपमा रहेको चट्टानबाट मानिसहरु समून्द्रमा हाम्फाल्ने गर्दछन् । सोहि क्रममा करिब २ सय फिट उचाईबाट हामफाल्दा ३ जना व्यक्ति घाइते भएपछी एयर एम्बुलेन्सले उद्धार गरेको थियो । त्यस्तै बेलायतको केन्द्रमा रहेको हाइडपार्क कर्नरमा शनिबार भएको छुरी काण्डमा ३ जना घाइते भएको र घटनामा संलग्न ४ जनालाई प्रहरीद्वारा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।