म्यादी प्रहरीको यसरी गरियो बिदाई

काठमाडौं, ७ पुस – प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरीको शुक्रबार बिदाई गरिएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ९८ हजार ३ सय ६८ जना म्यादी प्रहरी भर्ना गरेको थियो ।

म्यादी प्रहरीको काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रहरी परिसरहरू र उपत्यका बाहिर सम्पूर्ण जिल्ला प्रहरी कार्यालयबाट भर्ना गरिएको थियो ।

यसैबीच महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले पनि आफू मातहतका ८१ जना म्यादी प्रहरीको बिदाई गरेको छ । प्रभागमा शुक्रबार आयोजित एक कार्यक्रममार्फत उनीहरुलाई प्रमाणपत्रसहित बिदाई गपिरएको प्रभाग प्रमुख प्रहरी इन्सपेक्टर प्रताप पौडेलले लोकपथलाई जानकारी दिए । सो क्रममा टोलसुधार समितिका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।
बिदाईका क्रममा म्यादी प्रहरीले छोटो समय भएपनि बर्दी लाएर देशको सेवा गर्न पाउँदा खुसी लागेका बताएका थिए भने ।

पौडेलका अनुसार प्रहरी जवानले पाए सरहको तलब, भत्ता र सुविधा उनीहरुले पाएका छन् ।
म्यादी प्रहरीले ५५ दिन खटिए बापत आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले तथा रासन, पारिश्रमिक र स्थानीय भत्ता पाएका छन् ।

त्यस्तै निर्वाचनको दिन सात दिनका लागि प्रतिदिन २ सय ५० रुपैयाँका दरले विशेष भत्ता र २ सय ५० रुपैयाँ नै खाजा खर्च पनि पाएका छन ।

यस्तै ४ हजार पोसाक भत्ता र बाटो खर्च स्वरूप १ हजार रुपैयाँ पनि पाएका छन् । सबै रकम उनीहरुको तोकिएको बैंक खातमार्फत उपलब्ध गराइएको बताइएको छ ।

एक पटक पढ्नुहोस