आशाको निराशाजनक कार्यशैली, गुटबन्दीले प्रहरी अस्पताल अस्तव्यस्त

महाराजगञ्जस्थित प्रहरी अस्पताल गुणस्तरीय सेवा भन्दा पनि अनेकौं विवादका कारण चर्चामा आउँछ । हाल प्रहरी अस्पतालको प्रमुख छिन्, एआईजी डा आशा सिंह ।

एआईजीमा बढुवा सिफारिस भएसँगै संयुक्त राष्ट्र संघको मिसनमा कामनै नगरी तक्मा लगाएको र राष्ट्रपतिको हातबाट कुनै पदक नपाए पनि पदक पाएर फोटो खिचेको भन्दै विवादमा तानिएकी थिइन्, डा. सिंह ।

सिंहको विषयमा अनेकन विवाद छताछुल्ल छ । तक्मा र पदकको विवाद अख्तियारसम्म पुग्यो । बढुवामा असर पर्ने अपेक्षा थियो । तर, त्यस्तो भएन । गत ८ माघमा उनले एआईजीको दज्र्यानी चिन्ह लगाइन् ।

कोरोना महामारीविरुद्ध सबै शक्ति एक भएर खटिनुपर्ने बेला गुटगत जुहारीले अस्पताल झनै अस्तव्यस्त भएको पाइएको छ । अस्पतालमा गुट मौलाउँदा सेवा नै प्रभावित हुने हो कि भन्ने चिकित्सकहरुलाई चिन्ता पनि बढेको छ ।

प्रहरी अस्पतालमै कार्यरत एक प्रहरी अधिकारीका अनुसार अस्पताल आन्तरिक गुटबन्दीको सिकार हुँदा सेवा प्रभावित हुने गरेको छ ।

पाँच महिनाअघि डा. सिंहले अस्पतालको नयाँ नेतृत्व सम्हालेपछि कुनै खास समूहका स्वाथ्यकर्मीले अवसर पाउने र अर्को समूहले नपाउने स्थिति सिर्जना भएको ती प्रहरीको भनाइ छ ।

ती प्रहरीले भने, ‘केही व्यक्तिहरुले नियमित रुपमा राम्रो–राम्रो अवसर पाउने तर केहीले सामान्य मामिलामा पनि प्रतिशोध साँध्ने चलखेल पनि हुन्छ ।’

अहिले प्रहरी अस्पतालमा वरिष्ठता, योग्यता भन्दा पनि निकटता समूह विशेषको आधारमा तय हुन थालेको आरोप छ ।

पछिल्लो समय पाँचौं नम्बरमा रहेका डीएसपी नविन चौधरीलाई एसपी बनाउने, दोस्रो नम्बरमा रहेका एसपी मनोज यादवलाई एसएसपी बनाउने र दोस्रो नम्बरमा रहेका एसएसपी रुपेश ठाकुरलाई डीआईजी बनाउने चलखेल पनि भइरहेको छ ।

तर, डाक्टर सिंह भने यो कुरा स्वीकार गर्न तयार छैनन । उनले आफू पेशामा पूर्ण प्रतिबद्ध रहेको दावी गर्छिन् । उनी भन्छिन्, ‘एउटा प्रमाण ल्याएर दिनुस म राजीनामा दिन्छु ।’

डा. सिंह यसअघि कुनै पनि अस्पतालमा प्रमुख भएर काम गरेको अनुभव नभएको कराण कार्यसम्पादनमा त्रुटिहरु भइरहेको अस्पतालमै कार्यरत केही प्रहरी अधिकारीको बुझाइ छ ।

अस्पतालका श्वासप्रश्वास विज्ञ एसपी डा. मनोज यादवले एमडी गरेको पाँच वर्ष नपुग्दै दुई वर्षीय फेलोसिप अवसर पाए । जबकी एमडी गरेको पाँच वर्षपछि मात्र फेलोसिप पाउँछन् ।

डा. दिनेशचन्द्र पोखरेल प्रहरी अस्पतालको प्रमुख हुँदादेख नै डाक्टर यादवमाथि यस्ता अस्वभाविक लाभ उठाउँदै आएका आरोप छ ।

त्यो श्रृखंला वर्तमान नेतृत्वसम्म आइपुग्दा झनै उनी बलियो भएका छन् ।  अस्पतालको नेतृत्वमा सिंह नियुक्त भएयता केही खास समूहका व्यक्तिहरुले राम्रो अवसर पाउने गरेका छन् ।

नेपालगञ्जस्थित प्रहरी अस्पतालमा जानुपर्ने थियो एसपी डा. अनिल कुमार श्रेष्ठ । श्रेष्ठ हाडजोर्नी विशेषज्ञ पनि हुन् । तर, एआईजी सिंहको प्रभावको कारण नेपाजगञ्जस्थित प्रहरी अस्पतालको जिम्मेवारी एसपी श्रेष्ठलाई भन्दा कनिष्ट डीएसपी डा. आनन्द झालाई दिइयो । यसरी प्रहरी अस्पताल चलेको छ ।

एआईजी क्वार्टर नै छाडेर घरतिर
केही दिनअघि नेपाल प्रहरी अस्पतालमा कार्यरत तीनजना कोरोना संक्रमित प्रहरी भेटिए । अस्पतालमै कार्यरत ल्याबका एक प्रहरी सहायक निरीक्षक, एक मिर्गौलाको बिरामी र एक पूर्व प्रहरीकी श्रीमतीमा कोरोना देखिएको थियो ।

अस्पतालमा कोरोना संक्रमित भेटिएपछि अस्पतालले नै उपलब्ध गराएको क्वार्टर छाडेर प्रमुख सिंह घरमा बस्न थालेकी छन् । जहाँ अरु डाक्टरहरुको आवास पनि छ । नजिकै चमेनागृह पनि छ ।

अस्पतालमा कोरोना संक्रमण नभेटुन्जेल एआईजी सिंह घर नगई क्वार्टरमै बस्थिन् । क्वार्टरमै खान्थिन् । यद्यपी डा. सिंह अस्पताल आउन भने छाडेकी छैनन् ।

संक्रमितहरुको आइसोलेसन गृह अस्पताललाई बनाइएको थियो । संक्रमितहरुलाई अरु बिरामी र अन्य मानिसहरुबाट अलग्गै राखेर उपचार गराउनुपर्नेमा गलत ठाउँलाई आइसुलेसन तोकियो भन्ने विषयले अस्पतालमा त्रास फैलिएको छ ।

त्यसमाथि अस्पतालको जिम्मेवारी बोकेकी प्रमुख सिंह नै क्वार्टर छाडेर घरमा बस्न थालेपछि बाँकी स्वास्थ्यकर्मी र प्रहरीहरु त्रसित हुनु स्वभाविक पनि हो ।

यो बेला व्यवस्थापकीय कुशलता देखाउन नसक्ने हो भने फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल घट्ने चिकित्सकहरुको भनाइ छ । संक्रमण फैलन पनि सक्छ ।

कोरोना भाइरसले नेपालमा महामारीको रुप लिन खोजिरहेको बेला अस्पतालकी प्रमुख सिंहको पक्षपाती व्यवहारले चिकित्सकहरुको मनोबल घटेको बताइएको छ ।

केही दिनअघि महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा पनि कोरोना देखियो । वृत्त नै सिल गरेर प्रमुख रुगम कुँवरसहित मातहतका सबै प्रहरीलाई वृत्तमै राखियो ।

होम क्वारेन्टाइनमा बसेका सबै प्रहरीको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरियो । १४ दिनपछि सबैको रिपोर्ट नेगेटिभ आयो । र, सबैजना आ–आफ्नो जिम्मेवारीमा फर्किए ।

‘अस्पतालमा कार्यरत अरु प्रहरीलाई चाहिँ कोरोनाको डर नहुने, प्रमुखलाई चाहिँ डर लाग्ने,’ अस्पतालमै कार्यरत एक प्रहरी अधिकारीको गुनासो छ ।

एक पटक पढ्नुहोस