सहकारीले दिएको तनाव : बचतकर्ताको साँवा पनि गुम्ने खतरा

५ असार, काठमाडौं । सहकारी संस्थाहरुले सर्वसाधारणहरुको निक्षेप लिएर मनपरी गर्ने गरेका समाचारहरु बेलाबखतमा आउँछन् । साधारण समयमा पनि सर्वसाधारणहरुलाई सास्ती दिने सहकारी संस्थाहरुले लकडाउन पछि झनै तनाब दिन थालेका छन् ।

सर्वसाधारणहरुलाई फकाएर निक्षेप राख्न लगाउने अनि पछि ब्याज होइन साँवा समेत फिर्ता गर्न सहकारीहरुले आनाकानी गर्ने गरेका छन् । सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङकै सिभिल सहकारीले पनि बचतकर्ताको रकम फिर्ता नदिएर केहि समय अघि सास्ती दिएको थियो ।

इच्छाराज जस्ता धनाढ्यहरुसँगै अब गाउँ-गाउँका सहकारी संस्थाहरुले समेत सर्वसाधारणको निक्षेप लिएर फिर्ता भने गर्न छाडेका छन् । यसको एक उदाहारण हो, काभ्रेको विनायक सहकारी संस्था । विनायक सहकारीले बचतकर्तालाई दिनुसम्मको सास्ती दिएको छ ।

नमोवुद्ध-१० दाप्चा बस्ने लेखप्रसाद घोरासाइनेले विनायक सहकारीमा साधारण बचत खातामा रकम जम्मा गरेका थिए । उनको बचत करिब २ लाख रुपैयाँ पुगेपछि सहकारीमा रकम फिर्ता लिन गए । उनलाई आफ्नो बचत ब्याजसमेत गरेर २ लाख रुपैयाँ नाघेको अनुमान थियो । कृषि पेशाबाट जम्मा गरेको अरु रकम र सहकारीमा गरेको निक्षेप निकाले घर किन्ने सोचेर उनले बैना पनि गरे ।

‘मैले त्यहिँ रकम लिएर घर पास गर्छु भन्ने सोचेको थिए, तर मेरो आफ्नै पैसा पनि सहकारीले दिएन’ घोरासाइने भन्छन्, ‘मलाई सहकारीले झुलाई रहृयो, म आशमा बसिरहेँ ।’ सहकारीले रकम नदिए पछि उनले घर पास गर्न पनि सकेनन् ।

घडेरी (जग्गा) भने पास गर्नै पर्ने भएकाले गाउँमा २४ प्रतिशत ब्याजमा ऋण लिएर जग्गा पास गरेको उनले सुनाए । उनी पहिलो पटक मंसिर पहिलो साता सहकारी संस्थामा आफ्नो रकम लिन गएका थिए । पैसा फिर्ता मागेको ६ महिना पुगिसक्यो तर निक्षेप फिर्ता पाउन सकेनन् ।

उनी धेरैपटक धाएपछि एक लाख ९० हजार रुपैयाँको चेक काटेर सहकारीले उनको हातमा थमायो । ‘सिभिल बैंकको चेक काटेर माघ पहिलो साता दिएको थियो, सिभिल बैंकमा गएँ, तर बैंकले पनि हस्ताक्षर नमिलेकेा भन्दै चेक साट्न मानेनन्’ उनले भने ।

हस्ताक्षर नमिलेको वा खातामा पैसा नभई चेक काटेर दुःख दिए चेक अनादर मुद्दामा लाग्छ । त्यसका लागि बैंकले नै प्रक्रिया अघि बढाइदिनुपर्छ । सिभिल बैंकले चेक बाउन्स नहुने भन्दै उनलाई फर्काइदियो । ‘चेक बाउन्स पनि नहुने चेक दिएको रहेछ, हस्ताक्षर नै २ वटा छ भनेपछि बैंकले मलाई फर्कायो’ उनी भन्छन् ।

एक पटक पढ्नुहोस