महिना दिनसम्म रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित

तुलसीपुर । महिना दिनसम्म पिसीआर रिपोर्ट नआएपछि तुलसीपुरको अश्वारा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित भएका छन् । क्वारेन्टाइनमा बसेकाहरुले हो–हल्ला गर्दै बाहिर निस्कने प्रयास गरेपछि रोक्नका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रह

भोली–भोली भन्दै एक महिना पुग्दासम्म पनि पिसीआर रिपोर्ट नआएपछि आफूहरु बस्न नसक्ने भन्दै तोडफोड गरेर बाहिर निस्कने प्रयास गरेपछि थप प्रहरी बल पठाइएको हो ।

यसैबिच क्वारेन्टाइनमा बसेका, प्रहरी, स्वास्थ्यकर्मी  र वडाध्यक्ष बिच ३ दिनभित्र पिसीआर रिपोर्ट नआएपनि छोड्ने सहमतिमा उनीहरुलाई रोकिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

‘महिना दिन भयो रिपोर्ट आएको छैन । मान्छेहरु आत्तिरहेका छन् । कहिले मेसिन छैन । कहिले किट छैन भनेर कति दिन रोक्न सकिन्छ,’ डीएसपी सिंहले भने, ‘मान्छेलाई सधैभरी राख्न पनि त गाह्रो हुन्छ नि ।’ रिपोर्ट नआएमा पनि होम क्वारेन्टाइनमा बस्नेगरी छाड्ने सहमति भएको डीएसपी सिंहले बताए ।

अध्यक्षले भने, ‘अब म सक्दिन’ 
यता तुलसीपुर उपमहागनरपालिका–८ का वडाध्यक्ष वेदबहादुर केसीले पनि मान्छेहरुलाई लामो समयसम्म रोक्न नसकिने बताएका छन् । ‘किन रिपोर्ट आउन ढिला भइरहेको छ । यसको जवाफ सरकारले दिनुपर्छ,’ उनले भने, ‘मैले व्यवस्थापन मात्रै गरेको हो । रातदिन डिउटी गर्ने जिम्मा त हैन । अब म सक्दिन ।’

यदि रिपोर्ट नआए पत्रकार सम्मेलन गरेर यसको जवाफ खोज्ने अध्यक्ष केसीले बताए ।

यता क्वारेन्टाइनमा बसेकाहरुले निरोगी मान्छेलाई पनि रोगी हुने गरी स्कुलमा हुलेको भन्दै तिब्र आलोचना र विरोध गरेका छन् ।  तीन दिनभित्र पनि रिपोर्ट नआए आफूहरु जसरी पनि घरमा जाने उनीहरुले चेतावनी दिएका छन् । अहिले  उक्त क्वारेन्टाइनमा ६७ जना बस्दै आएका छन् ।

१० वटा क्वारेन्टाइनमा ६ सय ९ जना 
तुलसीपुर उपमहानगरपालिकाका अनुसार ५ सय १३ पुरुष, ८३ जना महिला र १३ जना बालबालिका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका छन् ।  क्वारेन्टाइनको मापदण्ड अनुसार १४ दिन बस्नुपर्ने भएपनि २५ दिन नाघेका करिब ३ सय ५० छन् भने अन्य १४ दिन पार गरेका छन् ।

‘भिटिएमको पनि अभाव भयो । संकलन गरेर पठाएको स्वाबको रिपोर्ट आउन पनि ढिला भयो,’ तुलसीपुर उपमहागनरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओम प्रसाद न्यौपानेले भने, ‘खेतिपातीको समयमा मान्छेहरु पनि आतिएका छन् । एउटा ठाउँको मात्रै हैन सबै क्वारेन्टाइनमा बस्दै आएका आक्रोशित छन् ।’

अश्वारा क्वारेन्टाइनबाट २५ गते ५७ जना र ३ गते १० जनाको कोरोना परीक्षण स्वाब संकलन गरिएको थियो ।

 

एक पटक पढ्नुहोस