शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन

७ असार, काठमाडौं । समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको  ८९ वर्षको उमेरमा निधन भएको छ । उनको काठमाडौँको महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको हो ।

काठमाडौँका डिल्लीबजारमा विसं १९८८ असारको हरिशयनी एकादशीमा जन्मिएकी जोशीको काठमाडौँस्थित पद्मकन्या क्याम्पस स्थापना गर्नमा प्रमुख योगदान छ । आणविक वैज्ञानिक डा. बलराम जोशीसँग विवाह गरेकी उनका दुई छोरी र एक छोरा छन् । जोशीले बनारसबाट राजनीति र संस्कृत शिक्षा तथा बेलायतबाट उच्च शिक्षा हासिल गरेकी थिइन् ।

जोशीको साहित्यमा समेत रुचि थियो । विसं २०३२ सालमा ‘कथासङ्ग्रह’ निस्किएको छ । उनको उत्कृष्ट प्रकाशन प्रालिले विसं २०७४ वैशाखमा ‘अक्षर साधना र गोँधुली साँझ’ भन्ने आत्मकथासमेत प्रकाशन गरेको त्यसका अध्यक्ष हरिप्रसाद रिमालले जानकारी दिए ।

जोशीको लगाव सामाजिक र शिक्षा क्षेत्रमा बढी रहेको थियो । आध्यात्मिक चिन्तक जोशीले युवराज्ञी हुँदा पूर्व रानी ऐश्वर्यलाई पढाएकी रिमालले बताए । तारागाउँ विकास समिति खडा गर्नमा उनको महत्वपूर्ण योगदान छ । पहिलो महिला क्याम्पस प्रमुख पनि हुन् उनी ।

रिमालका अनुसार उनी नेपाली नारीलाई शिक्षाको उज्यालो छर्न अथक प्रयास गरेकी छन् । विकृति–विसङ्गति हटाई आध्यात्मिक चेतना जगाउन उनले भूमिका खेलेकी छन् । शनिबार उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

एक पटक पढ्नुहोस