प्रतिष्ठानका कार्यकारी निर्देशक खनालद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा.राजन खनालले पदभार ग्रहण गरेका छन् । आज प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् ।  कार्यकारी निर्देशक डा.खनालले प्रतिष्ठानको भौतिक र दक्ष जनशक्तिको क्षमता विकास गरी कर्मचारीलाई गुणस्तरीय तालिम प्रदान गरिने बताए ।

उनले प्रतिष्ठानप्रति सरकारको ठूलो आशा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने दिशातिर लैजाने प्रयास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रतिष्ठानका अध्ययन निर्देशक वसन्तराज सिग्देलले नयाँ नेतृत्व, नयाँ विचार र नयाँ कार्यशैलीका साथ अघि बढ्नुपर्ने भन्दै प्रतिष्ठानले सरकारको ‘थिंक ट्याङ्क’का रूपमा निर्माण गर्दै जानुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक विष्णुप्रसाद लम्सालले प्रतिष्ठानलाई अझै नयाँ उचाइमा लैजानुपर्ने बताए । सरकारको सचिव पदबाट सेवानिवृत्त भएका डा.खनाललाई केही दिनअघि मात्र मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । प्रतिष्ठानका कार्यकारी निर्देशकमा पुण्यप्रसाद न्यौपानेको कार्यकाल सकिएपछि डा. खनाल नियुक्त भएका हुन् ।

एक पटक पढ्नुहोस