१५ असार, पोखरा । धान रोपाइँ हुने असार महिनामा कसरी पर्यटकलाई आकर्षित गर्न सकिएला ? पोखराका पर्यटन व्यवसायीले जुक्ति निकाले, ‘रोपाइँसँग पर्यटनलाई जोडेर इभेन्ट गर्ने ।’
यो आजभन्दा १७ वर्षअघिको कुरा थियो । १५ असार अर्थात धान दिवसलाई पर्यटनसँग जोडेर हिलो खेल्ने लगायतका कार्यक्रम निधो पर्यटन परिषद पोखराले गर्यो । पोखराका पर्यटनसँग सम्बन्धित संस्था परिषदमा आवद्ध छन् ।
‘असार १५ को संस्कृतिसँग जोडेर विभिन्न इभेन्ट राख्न सकियो भने यसले पर्यटन क्षेत्रमा थप टेवा पुग्छ भनेर रोपाइँ महोत्सव गर्ने परिकल्पना गरेका थियौं,’ परिषदका तत्कालीन अध्यक्ष डम्बर केसीले भने, ‘पछिपछि रोपाइँ महोत्सव यसरी ब्रान्डिङ हुँदै जान थाल्यो कि पर्यटकहरु यसकै लागि भनेर आउन थाले ।’
संस्कृति र प्रकृतिलाई जोड्न सकियो भने थप पर्यटक आउँछन् भन्ने विश्वासमा पहिलो पटक बिरौटा फाँटदेखि रोपाईं महोत्सव सुरु भएको थियो । पोखरामा रहेका पर्यटकलाई व्यवसायीले भनेर हिलो खेल्न, माछा समाउन लगाउतका इभेन्टमा सामेल गराउन लिएर गएका थिए ।
‘बिरौटा फाँटमा ४/५ हल गोरु नारिएका थिए । हिलो खेल्ने, माछा समाउने, हिले दौड गर्ने र दही चिउरामा रमाउन खेतमा गोरा छाला देख्दा किसान पनि छक्क परेका थिए,’ केसीले रोपाइँ महोत्सवको सुरुवाती वर्ष सम्झे, ‘पछि पछि कहाँको पर्यटकहरु वर्षैंपिच्छे यही महोत्सवका लागि आउन थाले, रोपाइँ महोत्सव पोखराकै एउटा ब्राण्ड बन्यो ।’
त्यसयता पोखरामा प्रत्येक वर्ष खेतमा किसानमात्रै हुँदैनन्, सहरका सुकुला मुकिला पनि हिलोमा रमाउँथे । विदेशी पर्यटक हिलो छ्यापाछ्याप गरेर रमाउँथे । असार १५ मा हिलो छुनुपर्ने समाजिक मान्यतालाई पोखराले उत्सवको रुपमा मनाउँदै आएको थियो ।
