हङ्कङमा ब्रिटिश पासपोर्ट होल्डरले बेलायतको नागरिकता पाउने

लन्डन । हङ्कङमा बसोबास गर्ने ब्रिटिश नेशनल ओभरसिज (बीएनओ) पासपोर्ट भएकाहरुले ब्रिटिश सिटिजनसिपको लागि आवेदन गर्न सक्ने भएका छन् । पूर्व ब्रिटिश उपनिवेश रहेको हङ्कङमा बसोबास गर्ने नागरिकहरुको आधारभूत स्वतन्त्रताको बारेमा प्रधानमन्त्री बोरिस जोन्सनले चासो व्यक्त गरेका छन् । प्रधानमन्त्री जोन्सनकाअनुसार शुरुमा ‘उनीहरुलाई बेलायतमा बस्न र काम गर्न पाउने अधिकार दिइनेछ, त्यसपछि उनीहरुले सिटिजनसिपको लागि आवेदन दिन सक्नेछन् ।’ यसबारेमा बेलायतका विदेश सचिव डोमीनिक राबले सांसदहरुलाई विस्तृत रुपमा जानकारी गराएका छन् ।

बेलायतको पूर्व उपनिवेश रहेको हङकङलाई सन् १९९७ पछि त्यहाँको स्वायत्ततामाथि जोखिम पुर्याएको र कानूनी दायित्वको उल्लंघन गरेको भन्दै रावले बेइजिङलाई चेतावनी दिएका छन् । तर चीनले भने आफ्नो आन्तरिक मामला भन्दै अन्तर्राष्ट्रिय रुपमा गरिने आलोचनालाई अस्वीकार गर्दै आएको छ । जुलाई १ तारिखबाट हङकङले सुरक्षा सम्बन्धि नयाँ कानून लागू गरेको छ ।

उक्त नयाँ कानून विद्रोही तथा आतंकवादी गतिविधिमा संलग्न हुनेमाथि लक्षित रहेको छ । उक्त नयाँ व्यवस्थाले ‘एक देश, दुई प्रणाली’ अन्तर्गत सन् १९८५ मा बेलायत र चीन बीचमा गरिएको संयुक्त हस्ताक्षर सहितको सम्झौताको उलंघन भएको बताइएको छ ।

जुन सम्झौताअनुसार कम्तिमा ५० वर्षसम्म केहि निश्चित स्वतन्त्रतालाई सुरक्षित कायम राख्नुपर्ने उल्लेख छ । हङकङमा झन्डै ३ लाख ५० हजार जति ब्रिटिश नेशनल ओभरसिज पासपोर्ट होल्डरहरु रहेका छन् । त्यस्तै अन्य २६ लाख मानिसहरु पनि ब्रिटिश सिटिजनसिपको लागि योग्य ठहरिनेछन् । वर्तमान अवस्थामा तिनीहरु सबैले ६ महिनाको लागि बेलायत प्रवेश गर्न पाउनेछन् ।

एक पटक पढ्नुहोस