After header

उद्योगी व्यवसायीलाई चुनाव लाग्यो, को-को छन् नेतृत्वको दौडमा ?

२१ असार, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । चैत अन्तिम साता हुनुपर्ने चुनाव कोरोना महामारीका कारण साउन २५ र २६ गतेका लागि सारिएको थियो ।

नयाँ मिति तय भएसँगै यतिबेला आकांक्षीहरूले दौडधुप तीव्र बनाएका छन् । विधानअनुसार महासंघको आगामी नेतृत्व शेखर गोल्छाले गर्ने पहिल्यै तय छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था विधानमा भएकाले उनको नेतृत्व निश्चित रहेको हो । अबको मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा केन्द्रित हुने छ ।

वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल चुनावी मैदानमा उत्रिँदैछन् । उनीहरूले औपचारिक रुपमै उम्मेद्वारी घोषणा गरेर यतिबेला भेटघाटलाई तीव्रता दिएका छन् । आफ्नो पक्षमा माहोल बनाउन उनीहरू दुवै यतिबेला सक्रिय छन् ।

प्रधान यसअघि पनि शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका व्यक्ति हुन् । एक उपाध्यक्ष पद रिक्त भएपछि प्रधानलाई सबैको सहमतिमा महासंघको जिल्लानगर उपाध्यक्ष बनाइएको थियो । भावी अध्यक्ष गोल्छाले उनलाई समर्थन गर्ने बताइएको छ।

वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका ढकाल हाल वस्तुगत उपाध्यक्षको रूपमा छन् । उनी उपाध्यक्षमा सर्वसम्मत चयन भएका थिए । ढकाललाई अर्का उपाध्यक्ष (वस्तुगत) उमेशलाल श्रेष्ठलेसमेत साथ दिँदैछन् । दुई उपाध्यक्षहरू एक ठाउँमा उभिएपछि अर्का उपाध्यक्ष प्रधान एक्लिएका छन् । तर दुई उपाध्यक्ष एकातिर लागे पनि आफूले जित्ने उनको दाबी छ ।

ढकालले एसोसिएटबाट महासंघको राजनीति सुरु गरेका थिए । आइएमई समूहका अध्यक्ष रहेका ढकालको बैङ्क तथा वित्तीय क्षेत्रमा ठूलो लगानी छ । उनले पर्यटन क्षेत्रमा पनि राम्रै लगानी गरेका छन् । इन्डोनेसियाका लागि अवैतनिक वाणिज्य  दूतसमेत हुन् उनी ।

अर्का आकांक्षी प्रधान जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघको तर्फबाट आएका विराटनगरका व्यवसायी हुन् । उनी बिजुलीको पोल उत्पादन गर्ने व्यवसायीहरूको संगठनको अध्यक्षसमेत छन् । जिल्लानगर उपाध्यक्ष प्रमोद श्रेष्ठले स्थानीय निर्वाचनमा उम्मेदवार बनेपछि उनको स्थानमा प्रधानलाई ल्याइएको थियो ।

एक पटक पढ्नुहोस