भारतीय टेलिभिजन जी न्यूजले प्रशारण गरेको प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग सम्बन्धित सामग्री प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको अस्तित्व र आत्मसम्मानमा गम्भीर आघात पुर्याउने अभिप्रायले भारतीय सञ्चार माध्यमबाट भ्रामक सामग्री प्रसारण भएको र हुँदै आएको ठहर गर्दै फोनिजले उक्त कार्यको भतसर्ना गरेको हो ।
सचिव मिलन लिम्बुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाललाई जोडेर भारतीय सञ्चारमाध्यमबाट हुँदै आएको गलत प्रचार निन्दनीय र आपत्तिजनक छ । पछिल्लो पटक प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूतसँग सम्बन्धित आक्षेपपूर्ण समाचार प्रशारण हुनु त्यसैको निरन्तरता हो । जुन प्रेसको विश्वव्यापी मान्यता विपरित रहेको छ ।’
भारतीय सञ्चारमाध्यमबाट हुँदै आएको यस्ता गतिविधिले दुई देशको सम्बन्धमा सकारात्मक सञ्चार प्रवाह हुन नसक्ने फोनिजले जनाएको छ । ‘यस्ता निन्दनीय गतिविधिको कूटनीतिक माध्यमबाट खण्डन गर्न फोनिज नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा माग गरिएको छ ।
