काठमाडौ/ रसुवाका कवि सुविन न्यौपाने ‘कान्जिभाइ’को पहिलो कवितासङ्ग्रह ‘कमरेडको जनै’ सार्वजनिक भएको छ । कवि श्रवण मुकारुङ, बिन्दु शर्मा, मानुषी भट्टराई र नेता विश्वप्रकाश शर्माले संग्रह सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै लेखक मानुषी भट्टराईले सामान्यजस्तो लाग्ने पात्र-प्रवृत्तिलाई समेत कवि कान्जिभाइले असाधारण ढंगले पस्किएको बताइन् । भुइँमान्छेकाे प्रतिनिधित्व गर्न सक्ने कविता भएकाे बताउने मानुषिले भनिन्, ‘कमरेडकाे जनैभित्रका कविताले हरेक राजनीतिकर्मीलाई कसका लागि राजनीति गरिएकाे छ भनेर साेच्न बाध्य गराउने छ ।’
समीक्षक बिन्दु शर्माले भने सार्वभौम अभिव्यक्ति र समकालीन चेतका आधारमा कविले कविता रचना गरेको उल्लेख गरिन् । कवि श्रवण मुकारुङले कविताको विषयवस्तु समान भएपनि कविको शिल्प र शैली नितान्त मौलिक हुनुपर्नेमा जोड दिए ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कवि-लेखकले नेतृत्ववर्गलाई सधैं सचेत राख्न धारिला सृजना गरिरहनुपर्ने बताए । ‘देश बन्नु भनेको बाटो र बिजुली बन्नुमात्र होइन, ठूला भवन र सहर बन्नुमात्र होइन । संस्कृति, सभ्यता र कलामा समुन्नत हुनुचाहिँ देश बन्नु हो’, नेता शर्माले भने ।
कार्यक्रममा वसन्त भट्ट र निर्भीकजंग रायमाझीले संग्रह भित्रबाट कविता वाचन गरेका थिए । इन्डिगो इन्कले प्रकाशन गरेको ‘कमरेडको जनै’भित्र ४७ थान कविता संग्रहित छन् । पुस्तकको मूल्य २ सय ९९ रुपैयाँ रहेको छ ।
