काभ्रे / नेपाल पकार महासंघ काभ्रे शाखाको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा काभ्रेमा महिलाहरुलाई तीन दिने पत्रकारिता तालिमको आयोजना गरिएको छ । पत्रकारितामा महिलाहरूको समान सहभागिता आजको आवश्यकता भन्ने मूल नाराका साथमा काभ्रेमा तीन दिन सम्म सञ्चालन हुने महिला पत्रकारहरूको क्षमता अभिवृद्धि तालिमको उद्घाटन आज एक कार्यक्रमबीच भएको छ । तालिमको उद्घाटन गर्दै समन्वय समितिका प्रमूख दिपक गौतमले आफू पाँच बर्ष भोकै बस्नुपरे पनि नागरिकको पक्षमा काम गरिरहने बताएका छन् ।

तालिमको उद्घाटन गर्दै गौतमले विगतका स्मृति सम्झँदै भने —मुलुकमा आमूल परिवर्तनको लागि पत्रकारहरूको ठुलो भूमिका रहेको थियो । महिलाहरूले प्राविधिक क्षेत्रका साथै कालो कोट‚ सेतो कोट‚ पत्रकारिताको पहेले ज्याकेट लगाएर फिल्डमा रहनु धेरै सुहाउँछ साथै आवश्यक रहेको छ । विभिन्न क्षेत्रमा सेवाग्राहीले सेवा लिने क्रममा महिलाहरूसँग सहज ढंगबाट सेवा लिन पाउने तर्क रहेको छ त्यसैले महिलाहरूको सहभागिता धेरै हुनुपर्दछ ।
मिडियाका साथिहरुले समाचार बनाउँदै गर्दा विभाजन हुनु हुन्न‚ वास्तविक सूचना दिने तर्फ अग्रसरता हुनुपर्छ । स्थानीय तहहरूले बनाउने नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रहरूलाई समेत समेट्नु पर्छ यो जिल्लामा गर्न धेरै बाँकी छ पहिलो बर्ष केही लयमा ल्याउने कोसिस गरेका छौँ आशा छ यहाँहरुले हामीलाई निरन्तर साथ दिनुहुनेछ ।

कार्यक्रममा काभ्रे जिल्ला प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले समाज पूर्ण रहनको लागि महिला र पुरुष दुवै पक्ष चाहिन्छ । काभ्रेमा पत्रकारिता क्षेत्रमा महिलाहरूको कमी भएको महसुसले गर्दा तालिमको आयोजना भएकोमा खुसी व्यक्त गर्दै पत्रकारलाई कुनै पनि सूचना दिन र लिन आफूहरुले ढिला नगर्ने प्रतिबद्धता जनाए। उनले नेपालमा रहेको ७७ जिल्ला मध्य काभ्रे जिल्ला अव्बल बनाउने कार्यमा पत्रकारहरूको समेत ठुलो भूमिका रहेकोले अव्बल जिल्लाको लागि अगाडि बढ्न अनुरोध समेत गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाले तालिमको आवश्यकता र उद्देश्यमाथि प्रकाश पार्दै समन्वयका लागि जिससलाई धन्यवाद र निरन्तर सहकार्य गर्न आफूहरु तयार रहेको बताए । उनले भने– पत्रकार महासङ्घ काभ्रे शाखाको प्रमुख उद्देश्य नै महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नु हो ।

सोही कारण शाखाले तालिमको आयोजना गरेको तताउँदै तालिमको लागि आर्थिक सहयोग गर्ने जिल्ला समन्वय समितिलाई धन्यवाद व्यक्त गरे। तीन दिन स्वसञ्चालन हुने उक्त तालिममा २५ जना सहभागि गराइने उद्देश्य रहेको पत्रकार महासंघ काभ्रे शाखा उपाध्यक्ष एवं तालिमको संयोजक सुनिता सापकोटाले बताईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका उपाध्यक्ष विनोद न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए । उनले महिला सञ्चारकर्मिहरुको सक्रियता कमजोर भएको र त्यसलाई प्रमोशन गर्न यो तालिमले भूमिका खेल्ने बताए । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमूखहरु, विभिन्न संघ संगठनका अध्यक्ष तथा क्रियाशिल पत्रकारहरुको उपस्थित थियो ।
