काभ्रे । २०८१ असोज दोस्रो साताको बाढीपहिरोले विपी राजमार्गअन्तर्गत भकुण्डे सिन्धुली सडकखण्ड क्षतविक्षत बन्यो । सयौँ सवारी साधनका हजारौँ यात्रीहरुलगायत अलपत्रमा परे । राजमार्गको विभिन्न स्थानमा बाढीपहिरोले सडक अवरुद्ध हुँदा सडकखण्डका बीचमा अलपल परेका यात्रुलाई स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको पहलमा हवाई उद्धार गर्नुपरेको थियो । उक्त राजमार्गमा राखिएको आकस्मिक सूचना प्रणाली (ईआइएस्) बोर्डमा सूचना अद्यावधिक गरिएको भने त्यति ठूलो सङ्ख्यामा यात्रु अलपत्र पर्ने थिएनन् ।
सिन्धुलीबाट काठमाडौतर्फ आउने र काठमाडौबाट त्यसतर्फ जाने यात्रुले सडक अबरुद्ध एवं जोखिमपूर्ण रहेको सूचना दिएको भए हजारौँ यात्रुले त्यसबेला सास्ती खेप्नुपर्ने पनि थिएन । संघीय राजधानी काठमाडौँलाई मध्यपहाडसँगै पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रुपमा रहेको विपी राजमार्गमा ईआइएस् बोर्डमा करिब पाँच बर्षदेखि आवश्यक सूचना अद्यावधिक गरिएको छैन । तीन बर्षअघि उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिएपनि आवश्यक सूचना दिन नसकिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तात्कालीक अवस्थाबारे जानकारी दिने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेललगायतका सिन्धुलीको बर्दिबाससम्म पाँच स्थानमा दशकअघि सडक हस्तान्तरणलगत्तै विभिन्न स्थानमा डिजिटल सूचना बोर्ड राखिएको थियो । राजमार्ग प्रवेशस्थल काभ्रेपलाञ्चोकको धुलिखेलस्थित बोर्डमासमेत मौसमअनुसारको सूचना अद्यावधिक गर्न नसकेको जनाइएको छ । उक्त बोर्डमा तीन बर्षअघिसम्म सामान्य सूचना डिस्प्ले हुँदै आएको थियो ।
सडक हस्तान्तरणपछि कन्सल्ट्यान्टद्वारा ब्यवस्थित गरिएको इआइएस् उसको समयावधि सकिएपछि केही समय सञ्चालन भएपछि अपडेटसहित निरन्तरता दिन नसकिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल यन्जिनियर सुमन योगेशले बताए । उनका अनुसार यसबर्ष मर्मतगरी उक्त प्रणाीलाई सञ्चालन गरिनेछ । “ईआइएस् मर्मत र सञ्चालन निकै चुनौतिपूर्ण छ, जनशक्ति र आवश्यक बजेटसहित यस बर्ष सञ्चालन गर्ने प्रयास गर्नेछौँ”, योगेशले भने ।
विपी राजमार्ग अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलबाट दायाँतर्फबाट सुरु हुन्छ । ईआइएस् व्यवस्थित गरिएको सात बर्षपछि विसं २०७९ मा सञ्चालनमा चासो राखेको विभागलेसमेत बजेट र जनशक्ति अभावका कारण उक्त राजमार्गको आकस्मिक सूचनाप्रणाली प्रविधिलाई निरन्तरता दिन नसकेको जनाएको थियो ।
दुई बर्षअघिसम्म धुलिखेल र खुर्कोटको डिजिटल बोर्डमा ‘सवारी चलाउँदा सचेत रहनुस्’, ‘ट्राफिक नियमको पालना गरौँ’ जस्ता सामान्य सूचनाबाहेक डिस्प्ले हुने गर्दथे । हाल यी बोर्ड रार्खिएकको स्थानमा सरसफाईसमेत नुहँदा घाँस र रुख उम्रिएर बोर्ड छोपिने अवस्थामा पुग्दैछ । उक्त प्रविधिलाई पूर्णता दिई सञ्चालनमा ल्याउन सडक विभागले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को एक्सपोर्ट टिमलाई अध्ययन स्वीकृत दिएको थियो ।
उसको प्रतिवेदनपछि प्रणालीलाई निरन्तरता दिने योजना बनाइएपनि बजेट र जनशक्ति नहुँदा मर्मत गरी सञ्चालन गर्न नसकिएको विभागले जनायो । विभागले सडक निर्माणकर्ता जाइकाले सडकसँगै उक्त प्राणालीको विकास गरेको तर केही समयपश्चात उक्त प्रविधिलाई जनशक्ति अभाव तथा अन्य प्राविधिक समस्याका कारण निरन्तरता दिन नसकिएको जनाउँदै आएको छ ।
उक्त मार्गलाई नेपालकै नमूना बनाउन यस्तो प्रणालीको विकास गरिएको आयोजनाले जनाएको थियो । यस्तो प्रणालीले राजमार्गको अवस्था तथा आकस्मिक घटनामा तत्काल उद्धार गर्न सकिने संयन्त्र निर्माण गर्न सकिने अपेक्षा गरिएको थियो । विपी राजमार्गलक्षित संघीय राजधानी काठमाडौँबाट अरनिको राजमार्ग प्रवेशक्षेत्र कोटेश्वरमासमेत एउटा सूचना बोर्ड राखिएको थियो । यस प्रणालीअन्तर्गत चारवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफेल अब्जर्भेसन सिष्टम’ले निरन्तर रुपमा बर्षात्को मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ ।
उक्त प्रणालीअन्तर्गत डाटा सेन्टरमा निरन्तर आउने प्रकोपका विवरणहरु जिपीआरएस् मोडेममार्फत मोबाइल, वेभसाइट र सडक सूचना बोर्डमा आफैँ अपडेट हुन्छ । यी विवरणहरु एलइडी डिस्प्लेयुक्त बोर्डहरुमा नेपाली र अंगे्रजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो । २४सै घण्टा विवरण अपडेटमा लोडसेडिङले समस्या हुनसक्ने जनाउँदै सबै केन्द्रमा सौर्यशक्ति (सोलार)मार्फत विद्युत आपूर्ति हुने व्यबस्थासमेत मिलाइएको थियो ।
यस्तै राजमर्गामा बर्षा, बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप तथा सडक दुर्घटनाबारे तत्काल मोबाइल, वेभसाइटमा जानकारी आउने व्यबस्था मिलाइने योजना बनाइएको थियो । यही जानकारी राजमार्गको वेभसाइट तथा कोटेश्वर, धुलिखेल, खुर्कोट, सिन्धुली र बर्दिबासमा रहको डिजिटल सूचना बोर्डमासमेत हेर्न सकिने प्रविधि जडान गर्ने आयोजनाको लक्ष्य थियो ।
राजमार्गको अवस्थाबारे मोबाइल तथा वेभसाइटमा जानकारी लिनसक्ने गरी दश वर्षअघि उक्त प्रविधि जडान गर्न सडकखण्डको विभिन्न स्थानमा सूचनाप्रविधिका भौतिक पूर्वाधारलगाययत संरचना निर्माण तथा ब्यवस्थापन गरिएको हो । यस्तै वेभसाइट र सडकमा रहेका इलेक्ट्रिकल बोर्डका सूचना हेरेर पनि यात्रा तयगर्न सकिने योजनासमेत बनाइएको थियो ।
त्यसबेला राजमार्ग सञ्चालन तथा मर्मत–सम्भारका लागि स्थापित उप–आयोजनाले यस्तो प्रणालीको विकास गरेको थियो । विभागका अनुसार एन्ड्रोइडमा आधारित मोबाइल एप्लिकेशनसहित वेभसाइट र ईआइएस्लाई इन्जिनियररिङ सफ्टवेयर कम्पनीले ‘प्रणाली’समेत तयार पारिसकेको थियो ।
काभ्रेपलाञ्चोकको धुलिखेलबाट विसं २०५४ सालबाट बनेपा–सिन्धुली बर्दिबास एक सय ६० किलोमिटर सडक बिस्तार गरिएको थियो । चार खण्डखण्ड विभाजन गरी विसं २०७२ असारमा निर्माण सम्पन्न गरी औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
