After header

नेपाल उद्योग वाणिज्य महासंघको मतदान बिहान ८ बजेबाट सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभाको दोस्रो दिन मंगलबार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन्। उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि निर्वाचन हुन लागेको महासंघ निर्वाचन कमिटीले जानकारी गराएको छ।

महासंघको नयाँ कार्यकारिणी समितिको चुनावका लागि मुख्य दुई समूहबीच प्रतिस्पर्धा हुँदै छ । महासंघको आगामी नेतृत्वका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठ समर्थित एक समूह र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूह प्रतिस्पर्धामा छन्।भावी अध्यक्ष श्रेष्ठको साथ भएको अर्को समूहले वरिष्ठ उपाध्यक्ष अझै औपचारिक रूपमा घोषणा गरिसकेको छैन ।

श्रेष्ठको प्यानल भनेर सार्वजनिक भएको उक्त समूहले वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरेलाई उम्मेदवार बनाएको छ ।उनको प्यानलमा वस्तुगत महासंघतर्फका कार्यकारिणी सदस्य उम्मेदवारमा कृष्णप्रसाद अवला र विश्वनाथ खनाल छन्। यस्तै वस्तुगत संघतर्फका कार्यकारिणी सदस्य उम्मेदवारहरू पनि सो समूहले सार्वजनिक गरेको छ । उक्त समूहतर्फ एसोसिएट उपाध्यक्षका उम्मेदवार प्रबलजंग पाण्डे छन् ।

यो समूहबाट जिल्ला÷नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा (सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देही) र दिलसुन्दर श्रेष्ठ (धुलिखेल उद्योग वाणिज्य संघ) ले उम्मेदवारी दर्ता गराएका छन्।ढकालको प्यानलमा जिल्ला÷नगर उद्योग, वाणिज्य समूहतर्फको उपाध्यक्षमा उमेश डालमिया (झापा उद्योग वाणिज्य संघ) र कल्पना गैरे (दार्चुला उद्योग वाणिज्य संघ) उमेदवार छन् ।

जिल्ला नगर समूहबाट दुईजना उपाध्यक्ष निर्वाचित हुन्छन् । निर्वाचनमा जिल्ला नगर समूहको सबैभन्दा ठूलो प्रभाव रहँदै आएको छ ।ढकाल प्यानलबाट वस्तुगततर्फको उम्मेदवार उपाध्यक्ष नरेशलाल श्रेष्ठ छन्। एसोसिएटतर्फ उपाध्यक्षमा उम्मेदवार ज्योत्सना श्रेष्ठ रहेकी छन् । वस्तुगत समूहलाई प्रतिनिधित्व हुने गरी नरेशलाल श्रेष्ठको प्यानलमा वस्तुगत महासंघतर्फको कार्यकारिणी सदस्य समेतका लागि उम्मेदवारी परिसकेको छ ।

ढकाल समूहको एसोसिएट उपाध्यक्ष उम्मेदवार ज्योत्सना श्रेष्ठ प्यानलको तर्फबाट पनि कार्यकारिणी सदस्यमा उम्मेदवारी परेको छ । महासंघको नयाँ कार्यकारिणी समितिका लागि ७३ ओटा पदमा १३७ व्यवसायीले उम्मेदवारी दिएका छन् । आज बिहान ८ बजेदेखि साझ ४ बजे मतदान समय तोकिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा मतदान सकिएसँगै मतगणना हुने जानकारी गराइएको छ ।

एक पटक पढ्नुहोस