धादिङ । तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाईते भएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा गए राति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब ११ः३० बजे काठमाडौँबाट चितवनतर्फ जाँदै गर्दा सडकमा रोकिएको बा ०३–००१–००६ ख २०५६ नम्बरको ट्रकलाई सोही दिशाबाट बागलुङतर्फ जाँदै गरेको बा ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। लगत्तै काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको अर्को बस बा ०१–००६ ख ६७१६ ले समेत उक्त बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका ३७ जनालाई इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी र स्थानीयको सहयोगमा तत्काल उद्धार गरिएको थियो। घाइतेहरूलाई स्थानीय बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा प्रारम्भिक उपचार गरिएको थियो।
प्रहरीका अनुसार ३ जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी ३४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
जसमध्ये २८ जनाको राष्ट्रिय ट्रमा सेन्टर र टिचिङ अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ भने ६ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ । तीनवटै सवारी साधनमा गरी कुल ६८ जना यात्रु सवार थिए ।दुर्घटनामा संलग्न तीनवटै सवारी साधनका चालकहरूलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका चालकहरूमा पर्वत कुश्माका ३२ वर्षीय शिव थापा, ललितपुरका ४५ वर्षीय पुरुषोत्तम तिमिल्सिना शर्मा र ट्रक चालक रौतहट गजुराका २८ वर्षीय प्रमोद चौधरी रहेका छन् ।
