काभ्रे । सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोकको २४औँ वार्षिकोत्सवका एक कार्यक्रमको बिच सम्पन्न भएको छ । सशस्त्र प्रहरी नायब महानिरीक्षक बागमती प्रदेश प्रमुख अञ्जनीकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा पोखरेलले मातहत अन्य युनिटहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई स्थापना दिवसले कार्यक्षेत्रमा खटिदा थप उर्जा र हौसलाका साथ परिचालित हुन प्रेरणा मिलोस् भन्ने शुभेच्छा र शुभकामना दिदैं यस्ता प्रकारका कार्यक्रमहरुलाई सभ्य, सरल र सहभागितात्मक तवरले संचालन गरी संस्कृतिको रुपमा अगाडी बढाउन सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको योगदान उल्लेखनिय रहने बताए ।

सशस्त्र प्रहरी बल नेपाललाई सुम्पिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न संगठनका हरेक सदस्य शारिरीक रुपमा सबल र मानसिक रुपमा सक्षम हुनु अपरिहार्य रहेको उनको भनाई थियो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सम्बोधन गर्दै सशस्त्र प्रहरीका जवानदेखि लिएर अधिकारीहरूलाई शुभकामना दिँदै सेवामा दत्तचित्त भएर लाग्न निर्देशन दिएका थिए ।
सशस्त्र प्रहरी बलले आफ्नो सङ्गठनको नीतिको परिधिमा रहेर उल्लेखनीय काम गरेको उनले स्मरण गरे । उनका अनुसार काभ्रे जिल्लामा सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गदै अन्य शान्ति सुरक्षामा समेत उतिनै सहयोग र साथ रहेको उनले बताए ।

कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले सुरक्षा निकाय र स्थानीय तहबीचको सहकार्यले नागरिकलाई प्रत्यक्ष लाभ पुगेको बताए । कार्यक्रममा गत २१ वैशाख रातिको अविरल वर्षापछि आएको बाढीका कारण बीपी राजमार्ग अन्तर्गत रोशी–७ लास्कोट र घुमाउने खोलाबीच फसेका यात्रुको उद्धार गर्ने सशस्त्र प्रहरीलाई नगदसहित सम्मान गरिएको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोकको २४औँ वार्षिकोत्सवका अवसरमा रोशी खोलामा फसेका पाँच माइक्रोबसका ८९ यात्रुलाई जोखिम मोलेर उद्धार गर्ने टोलीका सदस्यहरूलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा सहायक निरीक्षक भरत न्यौपाने, हबलदार श्रीकृष्ण कार्की, बुद्धि खड्का, सहायक हबलदार किरण कुँवर र अशोकजंग दनुवार रहेका छन् ।

उनीहरूलाई उद्धार कार्यमा देखाएको साहस, व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरिएको हो । साथै पाँचखाल चौकी इन्चार्ज प्रशान्त तामाङ र इलाका प्रहरी कार्यालय देवीटारका इन्चार्ज इन्द्रबहादुर राउत पनि सम्मानित भएका छन् । वार्षिकोत्सवमा काभ्रेका एसपी माधव रेग्मीले सशस्त्र प्रहरीले आगामी दिन अझ बढी नागरिक सेवामा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘सशस्त्र प्रहरी बललको आफ्नो नीति छ, हाम्रो काम र कर्तव्यको बारेमा सङ्गठनको बेग्लै नीति छ । त्यही नीतमा आधारित भएर हामी आफ्नो सेवा प्रवाह गर्छौ । त्यसकारण कानुन कार्यान्वयन एक इन्च दाँयाबाँया हुँदैन उनले भने ।’ वार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी बललाई विभिन्न समयमा सहयोग गर्ने सामाजिक अगुवाहरूलाई सम्मानित गरिएको थियो ।
