After header

भुक्तानी नपाएपछि पन्ध्र दिनदेखि गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प

चितवन । भुक्तानी नपाएपछि पन्ध्र दिनदेखि गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प भएको छ । चितवनको भरतपुरमा निर्माणाधीन उक्त रंगाशालाको काम ठप्प गरिएको कम्पनीले जनाएको छ । निर्माण कम्पनीका अनुसार गत पुस र फागुनमा गरी दुई पटक कामको रकम भुक्तानी माग गर्दा पनि नआएपछि विगत १५ दिनदेखि काम पूर्णरुपमा ठप्प गरिएको जनाएको छ ।

निर्माण कम्पनीका व्यवस्थापक विजय ढकालले आफूहरुले काम गर्न नसक्ने भएपछि रोक्नु परेको बताए । दुई वटा बिलको करिब १० करोड रकम भुक्तानी लिन बाँकी रहेको ढकालले बताए ।निर्माण कम्पनीले बिल भरतपुर महानगरपालिकामा पेश गरेको छ । महानगरपालिकाले प्रदेश सरकारबाट आउनुपर्ने रकम आउन ढिलाइ हुँदा भुक्तानी दिन नसकेको जनाएको छ ।
रंगशाला निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गरिरहेको छ ।

ठेक्का सम्झौताको म्याद सकिन करिब ७ महिना मात्रै बाँकी रहँदा ५० प्रतिशतभन्दा केही बढी मात्रै भौतिक प्रगति भएको छ ।
२०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २०८३ पुस २२ गते अर्थात ३० महिना भित्र सक्ने गरी कुल ७५ करोड ५० लाख ९१ हजार १८९ रूपैयाँको सम्झौता भएको थियो ।

एक पटक पढ्नुहोस