काभ्रे । आदर्श विद्या मन्दिर (एबिएम) स्कुल तथा कलेज, बनेपाले एक कार्यक्रमको बिच कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बिदाइ गरेको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको उद्धघाटन गदै प्रमुख गौतमले विद्यार्थीको पहिलो पाठ नै अनुशासन हुनुपर्ने बताए । ज्ञान र सीपसँगै अनुशासनले नै सफल व्यक्तित्व निर्माण गर्ने उल्लेख गर्दै विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ आकर्षित हुन आग्रह गरे । लगनशील, सिर्जनशील र जिम्मेवार नागरिकका रूपमा आफूलाई विकास गर्नुपर्नेमा उनको भनाई थियो ।
आदर्श बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा एबिएम कलेजका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले स्वागत र बिदाइलाई जीवनका दुई महत्वपूर्ण मोडका रूपमा चित्रण गरे । उनले स्वागतले नयाँ सम्भावनाको ढोका खोल्ने र बिदाइले जिम्मेवारी तथा आत्मविश्वासका साथ भविष्यतर्फ अघि बढ्न प्रेरणा दिने बताए ।

२०७५ सालदेखि कक्षा ११ सञ्चालन गर्दै आएको कलेजले गुणस्तरीय शिक्षा, अनुशासन, नैतिक मूल्य र आधुनिक प्रविधिमा आधारित शिक्षणलाई प्राथमिकतामा राख्दै आएको उनको भनाइ थियो । यस वर्ष कक्षा ११ मा १६५ जना विद्यार्थी भर्ना भएका छन् भने कक्षा १२ उत्तीर्ण १६२ जना विद्यार्थीलाई औपचारिक रूपमा बिदाइ गरिएको उनले जानकारी दिए । काभ्रेपलाञ्चोक जिल्लाकै पहिलो आईएसओ प्रमाणित शैक्षिक संस्था रहेको एबिएम कलेजले अन्तर्राष्ट्रियस्तरको शैक्षिक गुणस्तर कायम राख्दै आएको विद्यालयले दाबी गरेको छ ।
आईएसओ प्रमाणपत्र केवल सम्मान नभई शैक्षिक गुणस्तर, व्यवस्थापन प्रणाली, विद्यार्थी केन्द्रित शिक्षण र निरन्तर सुधारप्रतिको प्रतिबद्धताको अन्तर्राष्ट्रिय मान्यता भएको प्रिन्सिपल तिमल्सिनाले बताए । विद्यालयले २०८२ सालको एसईई परीक्षामा जिल्लाका संस्थागत विद्यालयमध्ये उत्कृष्ट नतिजा हासिल गरेको उल्लेख गर्दै उनले २५ उत्कृष्ट विद्यार्थिमध्ये १८ जनाले ३.६० भन्दा माथिको जीपीए प्राप्त गरेको जानकारी दिए । आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै गुणस्तरीय शिक्षाको निरन्तरता कायम राख्ने प्रतिबद्धता पनि उनले गरेका छन् ।
कलेजले शैक्षिक उपलब्धिसँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेको जनाएको छ । परिसरमै फुटसल, भलिबल तथा आधुनिक स्पोट्र्स जोन निर्माण गरिएको छ भने रोबोटिक्स ल्याब, इनोभेसन सेन्टर र टेक्निकल डिपार्टमेन्ट स्थापना गरी विद्यार्थीलाई अनुसन्धान, आविष्कार र उद्यमशीलतासम्बन्धी अभ्यासको अवसर प्रदान गरिएको छ ।
कार्यक्रममा जिल्ला प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, नेपाल सरकारका पूर्वसचिव डा. चन्द्रप्रसाद लुइँटेल तथा आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तीर्थराज दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नयाँ विद्यार्थीका लागि स्वागत र पुराना विद्यार्थीका लागि बिदाइको कार्यक्रमले एबिएम कलेजलाई केवल शैक्षिक संस्था मात्र नभई भविष्य निर्माण गर्ने थलोका रूपमा प्रस्तुत गरेको सहभागीहरूको भनाइ थियो ।
विद्यार्थी कल्याणकारी परिषद्का अध्यक्ष आयुष न्यौपाने र कक्षा १२ कानुन समूहका विद्यार्थी सौरभ थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान र अनुभव आदानप्रदानका कार्यक्रम पनि सम्पन्न भएका थिए ।
