काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाका बालबालिकाका सवाल, समस्या, आवश्यकता र अधिकारका विषयमा स्थानीय तहका जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गराउने उद्देश्यले ‘काभ्रेपलाञ्चोक जिल्लाका बालबालिकासँग जनप्रतिनिधि कार्यक्रम–२०८३’ सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट सहभागी बालबालिकाले जनप्रतिनिधिसमक्ष आफ्ना जिज्ञासा, समस्या तथा सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बालबालिकाले शिक्षा, स्वास्थ्य, पोषण, बालमैत्री स्थानीय शासन, विद्यालयको भौतिक पूर्वाधार, सुरक्षित वातावरण, खेलकुद, प्रविधिको पहुँच, बालश्रम तथा बालविवाह न्यूनीकरणलगायतका विषयमा प्रश्न तथा सुझाव राखेका थिए । जनप्रतिनिधिहरूले बालबालिकाका सवाललाई स्थानीय तहको नीति, योजना तथा बजेट निर्माणमा प्राथमिकताका साथ समेट्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले बालबालिका राष्ट्रको भविष्य मात्र नभई वर्तमानका महत्वपूर्ण साझेदारसमेत भएकाले उनीहरूको आवाजलाई स्थानीय सरकारसम्म प्रत्यक्ष रूपमा पु¥याउनु आवश्यक रहेको बताए । उनले बालबालिकाले राखेका सवाललाई सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायले गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले बालअधिकार संरक्षणका लागि राज्यका सबै तह, परिवार, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको बताइन् । बालबालिकाले आफ्ना कुरा खुलेर राख्न पाउने वातावरण निर्माण गर्नु नै बालमैत्री शासनको महत्वपूर्ण आधार भएको उनको भनाइ थियो ।
कार्यक्रममा जिल्ला बाल सञ्जालका अध्यक्ष आयुष न्यौपानेले सहभागीहरूलाई स्वागत गर्दै बालबालिका र जनप्रतिनिधिबीच एक–अर्काका परिपूरकका रूपमा सम्बन्ध विकास हुनुपर्नेमा जोड दिए । बालबालिकाले आफ्ना जनप्रतिनिधिलाई भेटेर आफ्ना विचार र समस्या राख्न पाउने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जनस्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख, विभिन्न पालिकाका वडाध्यक्ष, विद्यालयका शिक्षक तथा बालबालिकाका क्षेत्रमा कार्यरत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले बालबालिकाका समस्या सुन्ने मात्र नभई समाधानका लागि स्थानीय तहको योजना र कार्यक्रमसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र व्यक्तित्व विकासका लागि आवश्यक वातावरण निर्माण गर्न स्थानीय सरकार जिम्मेवार भएर अघि बढ्ने बताएका थिए ।
विद्यालयका शिक्षकहरूले बालबालिकालाई आफ्नो कुरा राख्ने, प्रश्न गर्ने र निर्णय प्रक्रियामा सहभागी हुने अवसरले उनीहरूको आत्मविश्वास बढाउने बताए । विद्यालय तहदेखि नै बालअधिकार, कर्तव्य र स्थानीय शासनबारे जानकारी गराउनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न पाउँदा आफ्ना समस्या र जिज्ञासा राख्ने अवसर प्राप्त भएको बताए । उनीहरूले विद्यालयमा आवश्यक पूर्वाधार, गुणस्तरीय शिक्षा, खेलकुद तथा स्वास्थ्यसम्बन्धी सेवामा सुधार, सुरक्षित वातावरण र बालमैत्री व्यवहारलाई प्राथमिकता दिन जनप्रतिनिधिसँग आग्रह गरेका थिए ।
बालबालिका र जनप्रतिनिधिबीचको प्रत्यक्ष संवादले स्थानीय तहका योजना तथा नीति निर्माणमा बालबालिकाको आवाज समेट्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रमले ‘बालबालिकाका लागि योजना होइन, बालबालिकासँगै योजना’ भन्ने अवधारणालाई व्यवहारमा अघि बढाउने महत्वपूर्ण आधार तयार गरेको आयोजकको भनाइ छ । कार्यक्रम जिल्ला समन्वय समितिमा शाखा अधिकृतका रूपमा कार्यरत ज्योति सापकोटाले सञ्चालन गरेकी थिइन् ।
