काभ्रे । धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २५औँ वार्षिक साधारण सभा तथा निर्वाचनले नेतृत्व चयनको माहोल तातेको छ । यहि भदौ ६ गते हुनगईरहेको निर्वाचनका लागि अध्यक्ष पदका लागि चार जना उम्मेदवार मैदानमा उत्रिएका छन् । अध्यक्ष पदमा श्याम दर्शन गणेजु, कृष्ण भूषण खोजु श्रेष्ठ, केशवबहादुर खुलाल र राजकुमार श्रेष्ठ तखाछे उम्मेदवार बनेका छन् ।
अध्यक्ष पदका उम्मेदवारहरूले धुलिखेलको खानेपानी आपूर्ति थप व्यवस्थित, नियमित र दिगो बनाउने विषयलाई प्राथमिकतामा राख्दै आफ्ना धारणा अघि सारेका छन् । उनीहरूले उपभोक्तालाई सहज र गुणस्तरीय खानेपानी उपलब्ध गराउने, खानेपानीका स्रोतको संरक्षण गर्ने, वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने तथा संस्थाको पारदर्शिता र जवाफदेहिता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पृथ्वी थापा अध्यक्ष रहेको सामाजिक सस्था, सामाजिक जागरण मञ्चको आयोजनामा धुलिखेल लज रिसोर्टमा भएको उम्मेदवार परिचयात्मक कार्यक्रममा उम्मेदवारहरुले यस्ता भनाई राखेका थिए ।अध्यक्ष पदका उम्मेदवार श्याम दर्शन गणेजुले उपभोक्ताको हितलाई केन्द्रमा राखेर खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न आफूले पहल गर्ने बताएका थिए ।
त्यस्तै अर्का आकाक्षी कृष्ण भूषण खोजु श्रेष्ठले संस्थाको व्यवस्थापन सुधारसँगै नियमित र भरपर्दो खानेपानी वितरणलाई प्राथमिकता दिने धारणा राखेका थिए । केशवबहादुर खुलालले खानेपानीका स्रोत संरक्षण, वितरण प्रणाली सुधार र संस्थालाई उपभोक्ताप्रति थप उत्तरदायी बनाउने विषयमा जोड दिएका थिए भने अर्का उम्मेदवार राजकुमार श्रेष्ठ तखाछेले उपभोक्ताको सुझाव र सहभागितामा संस्थालाई अघि बढाउँदै खानेपानी सेवामा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसैगरी एक सचिव पदका लागि दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
सचिव पदमा बिन्द्रलाल खोँजु श्रेष्ठ र जिवना पराजुली उम्मेदवार रहेका छन् । उनीहरूले संस्थाको प्रशासनिक व्यवस्थापन, पारदर्शिता र उपभोक्तासँगको समन्वयलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिईने बताएका थिए । कोषाध्यक्ष पदका लागि प्रभातकुमार श्रेष्ठ र हरिकृष्ण तिमल्सिना प्रतिस्पर्धामा छन् । आर्थिक पारदर्शिता, नियमित लेखा व्यवस्थापन र संस्थाको वित्तीय अनुशासन कायम गर्ने विषय आफ्नो मुख्य एजेन्डा रहेको बताएका थिए ।
२५औँ वार्षिक साधारण सभा तथा निर्वाचनले धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी नेतृत्व चयन गर्ने भएकाले उपभोक्तामाझ पनि यसको चासो बढेको छ । खानेपानी सेवा सुधार, स्रोत संरक्षण, संस्थागत पारदर्शिता र दीर्घकालीन व्यवस्थापनमा सक्षम नेतृत्व चयन गर्नुपर्ने आवाज उपभोक्तामाझ उठेको छ ।
