काभ्रे । काभ्रेपलाञ्चोकका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई एउटै पर्यटकीय मार्गमा जोड्दै पनौती–नमोबुद्ध–भकुण्डेबेँसी–तेमाल ‘बुद्ध–परिपथ’ विकास गरिने भएको छ । प्रतिनिधिसभा सदस्य मधुकुमार चौलागाईंको पहलमा संघीय सरकारले बुद्ध–परिपथ विकासका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । क्रमागत बजेटमार्फत योजना सम्पन्न गर्ने लक्ष्य लिइएको सांसद चौलागाईंले जानकारी दिएका छन् ।
सडकलाई नै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अवधारणा अनुसार तयार गरिएको गुरुयोजनाले काभ्रेको दक्षिण–पूर्वी भेगका धार्मिक तथा सांस्कृतिक सम्पदालाई एउटै सञ्जालमा जोड्ने छ । यसबाट पनौती, नमोबुद्ध र तेमालबीचको धार्मिक–सांस्कृतिक सम्बन्धलाई पर्यटनसँग जोड्दै स्थानीय अर्थतन्त्रमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ । पहिलो चरणमा १० करोड रुपैयाँ खर्च गरी पनौतीको डबलीदेखि नमोबुद्धसम्मको करिब आठ किलोमिटर सडकखण्डलाई बुद्धसँग सम्बन्धित सम्पदा र संरचनाले आकर्षक बनाइने छ ।
सडकको दायाँबायाँ विभिन्न स्थानमा माने, चैत्य तथा लाफिङ बुद्धका प्रतिमा स्थापना गरिनेछन् भने थान्का तथा अन्य सांस्कृतिक विषय समेटिएका जानकारीमूलक बोर्डसमेत राखिने छन् । सांसद चौलागाईंका अनुसार चलन चल्तीमा रहेका सडकलाई नै ‘बुद्ध–सर्किट’का रूपमा विकास गर्न लागिएको बताए । “पनौतीदेखि नमोबुद्धसम्मको सडकलाई बुद्धसँग सम्बन्धित सम्पदाले भरिपूर्ण बनाउँदै आकर्षक पर्यटकीय मार्गका रूपमा विकास गर्ने उद्देश्य हो,” उनले भने ।
बुद्ध–परिपथलाई थप विस्तार गर्दै नमोबुद्ध–भकुण्डेबेँसी हुँदै तेमालसम्मको करिब २५ किलोमिटर सडकखण्डको दायाँबायाँ पनि बुद्धसँग सम्बन्धित भौतिक तथा सांस्कृतिक सम्पदा निर्माण गरिने छ । विभिन्न स्थानमा माने, चैत्य, लाफिङ बुद्धका प्रतिमा तथा जानकारीमूलक संरचना स्थापना गर्ने योजना छ । परिपथअन्तर्गत नमोबुद्ध–भकुण्डे सडकखण्डमा पर्ने दाप्चास्थित बोक्से सामुदायिक वनमा रतुवा मृग पार्क निर्माण गर्ने योजना अघि बढाइएको छ ।
पार्क निर्माणका लागि बागमती प्रदेशको वन मन्त्रालयमा योजना स्वीकृतिको प्रक्रिया अघि बढाइएको सांसद चौलागाईंले बताए । “मृग पार्कका लागि स्थान छनोट भइसकेको छ र प्रदेश सरकार पनि सकारात्मक छ,” उनले भने । यसैगरी, बीपी राजमार्ग अन्तर्गत भकुण्डेबेँसी चारदोबाटोमा ‘सांस्कृतिक सङ्गम गेट’ निर्माण गरिने भएको छ । चारैतर्फबाट देखिने गेटमा विभिन्न धर्म तथा संस्कृतिका प्रतीक र सन्देशमूलक आकृति राखिने योजना छ ।
बुद्ध–परिपथको अर्को महत्वपूर्ण गन्तव्यका रूपमा तेमालको याङबेललाई विकास गर्ने योजना अघि सारिएको छ । याङबेलमा गुरु रेन्पोछेको विशाल मूर्ति निर्माण गर्ने तथा जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउने तयारी भईरहेको सांसद चौलागाईले जानकारी दिए । याङबेलमा ‘बुद्ध पार्क’ निर्माण गरी विशाल गुरु रेन्पोछे तथा बुद्धका मूर्ति, विभिन्न बुद्ध आकृति, घण्टाघर, बच्चासहित बाघको प्रतिमा, शान्ति चैत्य, थान्का लेखन विद्यालय र पार्किङस्थल निर्माण गर्ने योजना रहेको सांसद चौलागाईको भनाई छ ।
तेमालमा थान्का शिक्षालय सञ्चालन गर्ने योजनाले स्थानीय युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य लिएको छ । सांसद चौलागाईंका अनुसार थान्का सिक्नका लागि सहर जानुपर्ने बाध्यता हटाउँदै तेमालमै सिक्ने र सिकाउने वातावरण निर्माण गरिने उनको भनाई थियो । “तेमालमा थान्का शिक्षालय सञ्चालन भएपछि सहर धाउनुपर्ने बाध्यता हट्नेछ । यहीँ बसेर सिक्ने र अरूलाई पनि थान्का लेखन सिकाउने छन् । थान्कामार्फत तेमाललाई देशी–विदेशीसामु चिनाइनेछ,” चौलागाईंले भने ।
पनौतीदेखि तेमालसम्म इतिहास र संस्कृतिको संगम
बुद्ध–परिपथ केवल सडक विस्तारको योजना नभई काभ्रेको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई पर्यटनसँग जोड्ने अवधारणाका रूपमा अघि सारिएको छ । ऐतिहासिक नगर पनौती त्रिवेणीघाट, मन्दिर, जात्रा तथा पुरातात्त्विक सम्पदाका कारण धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र हो । इतिहासविद्हरूका अनुसार राजा प्रताप मल्लले वि.सं. १७२७ मा रानीपोखरी निर्माण गर्दा विभिन्न तीर्थस्थलबाट जल ल्याउने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जलसमेत राखिएको उल्लेख पाइन्छ ।
नमोबुद्ध भने बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो । गौतम बुद्धको पूर्वजन्मसँग जोडिएको कथासँग सम्बन्धित नमोबुद्ध क्षेत्रमा गुम्बा, चैत्य तथा बुद्धका विभिन्न मूर्ति रहेका छन् । त्यस्तै, तेमाल तामाङ इतिहास, संस्कृति र सभ्यताको महत्वपूर्ण थलोका रूपमा परिचित छ । गुरु पद्मसम्भवसँग जोडिएको धार्मिक इतिहासदेखि तामाङ संस्कृतिसम्मलाई पर्यटनसँग जोड्न सकिने पर्याप्त सम्भावना रहेको छ ।
तीनवटै क्षेत्रलाई एउटै परिपथमा जोडेर पूर्वाधार, धार्मिक सम्पदा, सांस्कृतिक पहिचान र पर्यटकीय गतिविधिलाई एकीकृत गर्ने योजना कार्यान्वयनमा आए काभ्रेको दक्षिण–पूर्वी भेगको पर्यटन विकासमा नयाँ आधार बन्न सक्ने अपेक्षा गरिएको छ । पनौतीको धार्मिक इतिहास, नमोबुद्धको बौद्ध दर्शन र तेमालको तामाङ सभ्यता एउटै पर्यटकीय मार्गमा जोडिने भएपछि काभ्रेको पर्यटनलाई स्थानीय गन्तव्यबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने लक्ष्यसहित बुद्ध–परिपथको अवधारणा अघि सारिएको सांसद चौलागाईले बताए ।
