राँझा । एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रविन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् । यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जानेगरी नौ जनामा सङ्क्रमण देखिएको थियो । यससँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या आजसम्म ८१ पुगेको छ ।
यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा २४ र वडा नं ७ मा एक जना गरी २५ जनामा सङ्क्रमण देखिएको थियो । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुरमा आज सङ्क्रमित देखिएका अधिकांश नागरिक भारतबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । आइतबार मात्रै नरैनापुर ५ का एक २५ वर्षीय युवकको कोरोनाबाटै निधन भएको थियो ।
