दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले यात्रुलाई सवारीसाधनमा लामबद्ध भएर यात्रा गर्न आग्रह गरेको छ भने चालकलाई सचेत गराएको छ। ‘हुलमुलमा हैन, लाइन लागेर’ भन्ने मूल हेतुका साथ ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न योजना बनाएर अभियान शुरू गरेको हो।
ट्राफिक महाशाखाले आइतबारदेखि काठमाडौं उपत्यकाका १० स्थानमा लाम लागेर सवारी चढ्ने परीपाटी बिकास गर्न स्वयं ट्राफिक प्रहरीलाई बाटोमा खटाएको छ ।
लाम बसेर सवारी चढ्दा जो पहिले आएको हो त्यसले पहिलो प्राथमिकता पाउने छ। अघिल्लो सार्वजनिक यातायातमा चढ्न नपाएका यात्रु लगत्तै पछिल्लोमा जान पाउनेछन्। यस्तै आउँदो माघ पहिलो सातादेखि काठमाडौं उपत्यकाभित्रका भाडाका सवारी चालकहरूले अनिवार्य पोसाक लगाउनुपर्ने भएको छ। पेसाप्रति अनुशासित र जिम्मेवार बनाउन प्रहरीले पोसाक अनिवार्य लगाउनुपर्ने व्यवस्था गर्न लागेको हो।
पोसाक कुन रंगको तय गरीने भन्ने टुंगो लाग्न बाँकि रहेको महाशाखाले जनाएको छ ।यो महिनाभित्र कपडा फाइनल भएर सिलाउन दिने गरी तयारी थालिएको छ। पोसाकमा सर्ट, पाइन्ट र जुत्ता अनिवार्य हुनेछ। समितिले कपडाको नमुना दिएपछि चालक आफैं टेलरमा पुगेर सिलाउन जाने गरी तयारी गरीएको हो ।पोसाकको नियम बिस्तारै सबै किसिमका सवारीसाधनदेखि विद्यालयका सवारीसाधन चलाउने र ट्याक्सीका चालकहरूसमेतलाई क्रमिक रूपमा अनिवार्य गर्दै लगिने भएको छ।
