दाङ । घोराही सिमेन्ट उद्योगले गरेको सम्झौताअनुसार ढुवानीभाडा घटाएपछि टिप्पर व्यवसायीहरुले टिप्पर बन्द गरी आन्दोलनमा उत्रिने चेतवानी दिएका छन् ।
शनिबार टिप्पर व्यवसायीहरुले घोराहीमा पत्रकार सम्मेलन गरी सिमेन्ट उद्योगले ढुवानीभाडा समेत भुक्तानी नगरेको आरोप समेत लगाएका छन् ।
पूर्व सहमतिअनुसार सिमेन्ट उद्योगले प्रतिटन ५ सय २५ दिनुपर्ने भएपनि अहिले उद्योगले जानकारी नै नगराएर मूल्य घटाएपछि व्यवसायीहरुले टिप्पर बन्द गरेर सिमेन्ट उद्योगलाई पत्र समेत बुझाएका छन् ।
सिमेन्ट उद्योगले जानकारी नै नदिएर असार १ गतेदेखि लागू हुनेगरी प्रतिटनमा सय रुपैयाँ घटाएर ४ सय २५ रुपैयाँ दिन खोजेको स्वर्गद्वारी टिप्पर यातायात प्रा.लि.का अध्यक्ष भरतनाथ योगीले जानकारी दिए ।
‘सिमेन्ट उद्योगले एकलौटी रुपमा मूल्य घटाएर प्रतिटन ४ सय २५ रुपैयाँ दिन खोजेको छ, त्यो हामीलाई मान्य हुँदैन,’ अध्यक्ष योगीले भने– ‘४ सय २५ ले हाम्रो पर्ता नै आउँदैन ।’
पूर्वसहमति अनुसार भाडा भुक्तानी नदिए टिप्पर चलाउन नसकिने पत्रकार सम्मेलनमा अध्यक्ष योगीले बताए । उनले उद्योगलाई भाडा समायोजन र काम गरेको पैसा दिन समेत माग गरेका छन् ।
टिप्पर व्यवासयीहरुले घोराही सिमेन्ट उद्योगको खानी क्षेत्र बंगलाचुली गाउँपालिका ३ र ४ स्थित तापाखानी र सम्राट सिमेन्टको खानी क्षेत्र बंगलाचुली ३ को थारा चुनढुङ्गा खानी क्षेत्रमा ढुवानी नगर्ने बताएका छन् ।
व्यवसायीले सम्राट सिमेन्ट उद्योगबाट पाइरहेको ढुवानी शुल्क वृद्धि गर्न समेत माग गरेका छन् । घोराही सिमेन्ट उद्योगबाट चुनढुङ्गा ल्याउनका लागि २ सय ६० टिप्परहरु चल्दै आएका छन्
