यसरी तोड्न सकिन्छ भारतसँगको संवादहीनता

१३ साउन, काठमाडौं । १६ कात्तिक २०७६ मा भारतले नेपाली भूभाग समेत आफ्नोतर्फ पारेर नक्सा निकालेलगत्तै कुटनीतिक नोटमार्फत नेपालले छलफलबाट निकास निकाल्न प्रस्ताव गर्यो । तर, यो प्रस्तावलाई भारतले बेवास्ता गर्यो ।

त्यहीबीच भारतले नेपाली भूमि हुँदै कैलाश–मानसरोवर जाने सडक बनाएपछि विवाद थप चर्कियो । पटक पटकको वार्ता प्रस्ताव अस्विकारेपछि नेपालले आफ्नो अतिक्रमित भूमि लिम्पियाधुरा सहितको प्रशासनिक तथा राजनीतिक नक्सा सार्वजनिक गर्यो ।

त्यसयता पनि नेपालले विभन्न माध्यमबाट संवादको प्रयास जारी राखेको छ । तर, भारतले त्यसलाई नकार्दै आएको छ । भारतमा लामो समय राजदूत रहीसकेका पूर्व परराष्ट्रमनत्री भेषबहादुर थापा नेपाल–भारत सम्बन्ध ‘एकोहोरो संवाद’को अवस्थामा पुगेको बताउँछन् । उनी भन्छन्, ‘नेपाल संवादकै पक्षमा छ र यसलाई निरन्तरता दिनुको विकल्प छैन ।’

भरतका लागि अर्का पूर्वनेपाली राजदूत दीपकुमार उपाध्याय भारतको कारण निम्तिएको यो सीमा विवादलाई अवसरमा बदल्न सकिने विश्वास व्यक्त गर्छन् । उपाध्याय भन्छन्, ‘सीमा मात्रै होइन पारवहन, व्यापार, पानी, डुबान जस्ता समस्याको प्याकेजमै सहमति खोज्यौं ।’

एकोहोरो संवादको अवस्थामा पुगेपनि वार्ताको प्रयास जारी राखौं : भेषबहादुर थापा, पूर्व परराष्ट्र मन्त्री

संवादहीनता भन्दा पनि एकोहोरो संवादको अवस्था भन्नु उचित होला । किनभने नेपालले वार्ताका लागि बारम्बार प्रयत्न गर्दै आएको छ । कुटनीतिक नोटमार्फत वा राजदूतलाई बोलाएर पनि नेपालले वार्ताको प्रस्ताव गर्दै आएको अवस्था छ । नेपालको निरन्तर प्रयत्नका बाबजुद भारत मौन बसेको अवस्था हो ।

थिएन, मेरो जानकारी भएसम्म यसअघि यस्तो अवस्था आएको थिएन । यस्तो अवस्थाले न त नेपाललाई लाभ गर्छ न भारतलाई नै सुहाउने विषय हो । हाम्रो सम्बन्ध नै यस्तो छ की लामो समयसम्म संवादहीन भएर बस्नै सक्दैनौं ।

भारत–चीनबीच युद्ध भएका बेला कालापानीमा भारतीय सुरक्षाकर्मी बसे यता नेपालमा पटक पटक व्यवस्था परिवर्तन भए । राजतन्त्र, लोकतन्त्र र गणतन्त्र आयो । तर व्यवस्था जुन आए पनि नेपालले आफ्नो भूमिको दाबी छाडेको छैन । नेपालले एकरुपतालाई निरन्तरता दिएको छ ।

भारतमा चुनावपछि नरेन्द्र मोदी नेतृत्वको बलियो सरकार बन्यो । बलियो सरकारले छिमेकीसँग जुन सकारात्मक सम्बन्ध राख्ने अपेक्षा गरेको थियो त्यो पूरा भएन । अहिलेको स्थितिमा आइपुग्नुमा त्यही नै कारक हो जस्तो लाग्छ ।

नक्सा विवाद भारतले सुरुवात गरेको हो । जम्मु–काश्मिरको नक्सा सच्याउने क्रममा लिम्पियाधुरा, कालापानी, लिपुलेक जस्ता क्षेत्र आफ्नो तिर पारेर नक्सा सार्वजनिक गरेपछि विवाद देखिएको हो ।

त्यसपछि पनि नेपालले पठाएको कुटनीतिक नोटको जवाफ दिन ढिलो गर्यो । उनीहरूले नक्सा जारी गरेको गरे गर्ने र नेपालले केही नगरी बस्ने कुरा भएन । हामीले केही नगरी बस्दा उनीहरूको नक्साले निरन्तरता पाए जस्तो देखिन्थ्यो । त्यसपछि मात्रै नेपालले आफ्नो भूमिसहितको राजनीतिक तथा प्रशासनिक नक्सा निकालेको हो ।

भारतका लागि नेपाली राजदूतले संवादको प्रयास गरिरहनु भएको छ । भेटघाट र अन्य माध्यमबाट प्रयास भइरहेको भन्ने कुरा आएको छ । नेपाल संवादकै पक्षमा छ र यसलाई निरन्तरता दिनुको विकल्प छैन ।

सीमानाको कुरा भएकाले राष्ट्र–राष्ट्रबीच नै संवाद हुनुपर्दछ । अन्य तहको संवादले पुग्दैन ।

सीमा सहितका सबै समस्या प्याकेजमा हल गरौं : दीपकुमार उपाध्याय, पूर्वराजदूत

नेपाल र भारतबीचको सम्बन्धमा उतारचढाव नौलो कुरा होइन । तर, अहिले ‘डेडलक’ जस्तै अवस्थामा पुगेको छ । खासगरी भारतले नेपाललाई नटेरेको जस्तो देखिएको छ । विगतमा आफैंले विवादित भनेर स्विकारिसकेको विषयमा पनि उसको अटेरीपन जारी छ । एक हिसाबको हेपाहापन देखिएको छ ।

नेपालको पनि कूटनीतिक कमजोरी होला । तर, यसरी अटेर गर्दा भारतलाई पनि लाभ छैन । नेपाल जस्तो छिमेकीसँग सम्बन्ध बिगार्यो भनेर उसको पनि अन्तराष्ट्रिय छवि राम्रो बनेको छेन ।

नरेन्द्र मोदी सरकार आएपछि सम्बन्ध जुन उचाइमा पुगेको भनिएको थियो, त्यो सही होइन की जस्तो देखिएको छ । मिल्दै–मिल्दै आएको सम्बन्ध बिग्रदै गएको छ । ‘कनभर्जिङ’बाट ‘डाइभर्जिङ’ मोडमा पुगेको छ ।

विवाद सिमानाको मात्रै होइन । डुबानको कुरा पनि छ । नेपाललाई जे गरेपनि हुन्छ भन्ने भारतको सोच उसका लागि पनि घातक हुन सक्दछ । उत्तरप्रदेश र विहारलाई बाढीबाट जोगाउनमा नेपालको पनि योगदान छ ।

पिउने पानीको कुरा छ । ऊर्जा, परिवहन, व्यापार घाटाका कुरा छन् । यी सबैलाई प्याकेजमा सहमति गर्नुपर्दछ । त्यसका लागि नेपालले निर्भिक भएर कुरा राख्न सक्नुपर्दछ ।

भौगोलिक विकटताले गर्दा कतिपय कुरामा चाहेर पनि हाम्रा लागि चीनभन्दा भारतसँग सहज हुन्छ । तर दक्षिण र उत्तर दुवैको माइक्रोम्यानेजमेन्ट हामीलाई स्विकार्य हुनुुहुँदैन ।

नेपाल–भारतको सम्बन्ध एउटा, नेता पार्टी विशेषसँग सम्बन्धित छैन । विगार्न खोजे पनि बिग्रन दिनु हुँदैन ।

छिमेकीले छिमेकको जस्तो व्यवहार नगरेको अवस्थामा हामी झनै गम्भीर हुनु जरुरी छ । कम्तिमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले शब्द-शब्द केलाएर बोल्नुपर्दछ । अरुलाई भन्ने अवसर दिनु हुँदैन ।

भारतले अटेर गरिरहेको अवस्थामा पनि हामीले आन्तरिक एकता कायम राख्नुपर्दछ । अन्तर पार्टी वा आन्तरिक पार्टी विवादको प्रभाव त्यसमा पर्न दिनुहुँदैन । हामी हल्का फुल्का टिप्पणीमा अल्झिनु हुँदैन ।

नेपाल र भारतबीचको संवादहीनता दुवै देशको पक्षमा छैन ।

भावनामा बग्नुभन्दा गम्भीर भएर वार्ता गर्नुपर्दछ । कूटनीतिमा नमीठो लागे पनि आहा कति मीठो भन्नुपर्ने हुन्छ ।

एक पटक पढ्नुहोस