नयाँ बसपार्कमा कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला !

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरसका कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो । कोभिड–१९ का कारण चैत १० गतेदेखि देशभरका सार्वजनिक यातायात बन्द रहेको अवस्थामा सरकारको सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेसँगै आजदेखि कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो । टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन आउने यात्रुसमेत बढेका छन् ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर बसपार्कका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोरोना संक्रमण हुन नदिन तथा सामाजिक दूरी कायम गरी यात्रुलाई सुरक्षित रुपमा गन्तव्यस्थलसम्म लैजाने वातावरण निर्माणका लागि टिकट बुकिङलाई कम्युटर प्रणालीमा लगिएको बताउँछन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको बेला ल्होत्से बहुउद्देश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत्र नयाँ बसपार्कमा कम्युटर प्रणाली जडान गरी टिकट बुकिङको व्यवस्था मिलाएको हो । यस्तै, अबको केही दिनभित्र नै ‘टोकन सिस्टम’बाट टिकट काट्नसक्ने व्यवस्था मिलाउन लागेको छ ।

एक पटक पढ्नुहोस