काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । नेताहरुलाई कोरोना संक्रमण भएपछि बैठक स्थगित गर्नुपरेको काँग्रेस नेता डा. प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए ।
‘नेताहरुलाई कोरोना देखिएको छ । त्यही भएर आजका लागि बोलाइएको बैठक स्थगित गरिएको छ’, नेता महतले जानकारी दिए ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पनि केही नेता र कर्मचारीमा कोरोना संक्रमण देखिएकाले बैठक स्थगित गरिएको बताए । ‘आज बैशाख १५ का लागि निर्धारित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ ।
बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजेटिभ देखिएको छ । यस्तो स्थितिमा कोरोनाको तिब्र संक्रमण बढिरहेको बेला ठुलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको छ’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
