मोरङमा होल्डिङ सेन्टरको सुरसार छैन, मेयर भन्छन्– प्रदेश सरकारले काम गरेन

प्रदेश नं. १ मा मोरङ, सुनसरी र झापासमेत तीन जिल्ला कोरोना महामारीबाट बढी प्रभावित छन् । तर, यी जिल्लाका स्थानीय तह बल्ल–तल्ल होल्डिङ तथा आइसोलेसन सेन्टर निर्माणको सुरसारमा लागेका छन् ।

यी जिल्लामध्ये सबैभन्दा बढी प्रभावित मोरङका स्थानीय तह खासै सक्रिय देखिएका छैनन् । मोरङमा कोभिड सङ्क्रमण नियन्त्रण र व्यवस्थापन गर्न डीसीसीएमसीको बैठक त बस्यो, तर, आवश्यक निर्णय गर्न भने सकेको छैन ।
खासगरी मोरङको विराटनगर अहिले कोरोनाको हटस्पट बनेको छ । तर बिराटनगर महानगरपालिकाले अहिलेसम्म कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी थालेको छैन ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कोरोना सङ्क्रमितलाई राख्ने आइसोलेसन र होल्डिङ सेन्टर निर्माणको जिम्मा प्रदेश सरकारको रहेको बताए ।

उनले स्थानीय सरकारले गर्नुपर्ने आवश्यक सम्पूर्ण काम आफूहरुले गरिरहेको भए पनि प्रदेश सरकारले निर्माण गर्नुपर्ने आइसोलेसन र होल्डिङ सेन्टर निर्माणमा चासो नदेखाएको बताए ।

‘प्रदेश सरकारले आइसोलेसन र होल्डिङ सेन्टर निर्माणको कामको सुरसार गरेको छैन,’ मेयर पराजुलीले रातोपाटीसँग भने, ‘प्रदेश सरकारले चासो नदिएपछि महानगरले आफ्नै सक्रियतामा केही स्थानमा आइसोलेसन निर्माणमा जुटेको छ ।’

तर, यो स्थानीय सरकारको कार्यविधिभित्र नपर्ने मेयर पराजुलीले बताए । विराटनगरको बैजनाथपुरमा २५ बेडको आइसोलेसन निर्माणको तयारी भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी, रानी नाकामा मेडिकल टिमसहितको हेल्थ डेक्स राखिएको र महानगरमा एन्टिजेन परीक्षण, टेस्टिङ र ट्रेसिङको काम पनि भइरहेको मेयर पराजुलीले बताए ।

विराटनगरमा पछिल्लो समय धेरै मात्रामा सङ्क्रमित बढेकाले जोखिम न्यूनीकरणका लागि कम्तीमा एक हप्ता लकडाउन गर्नुपर्ने बताए ।

मेयर पराजुलीले प्रदेशस्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकमा आफूले महानगरमा एक हप्ता लकडाउन गर्ने प्रस्ताव लगे पनि त्यो पास नभएको बताए ।

उनले यदि महानगरमा कोभिड सङ्क्रमणको जोखिम न्यूनीकरण गर्ने हो भने थोरै समयका लागि भए पनि लकडाउनको विकल्प नरहेको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लामा सङ्क्रमितहरुको दर बढे पनि अहिलेकै अवस्थामा लकडाउन गर्नु समस्याको समाधान नभएको बताए ।

नागरिकलाई स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण कार्यान्वय गराउनेतर्फ अगाडि बढाउन सबै तहबाट लाग्नुपर्ने सीडीओ निरौलाको भनाइ छ । सीडीओ निरौलाले धेरै मानिस होम आइसोलेसनमा बस्ने भएकाले संस्थागत आइसोलेसनको खासै दबाब नरहेको पनि उनले बताए । सीमा नाकामा होल्डिङ सेन्टर बनाउने तयारी भइरहेको बताए ।

सेवाग्राहीको भिड हुने सरकारी कार्यालयमा आलोपालो सिस्टम लागू गरिएको सीडीओ निरौलाले बताए । सेवा बन्द गर्नेभन्दा पनि तत्काल मालपोत र नापीमा आलोपालो सिस्टम लागू गरिएको उनी बताउँछन् ।

उनले नापी कार्यालय र परीक्षा बोर्डका कर्मचारी पनि कोरोना सङ्क्रमित भएको जानकारी दिए । आवश्यक परेको खण्डमा जिल्ला प्रशासन लगायत अन्य सेवाग्राहीको भिडभाड रहने सरकारी कार्यालयमा पनि आलोपालो सिस्टम लागू गर्दै जाने सीडीओ निरौलाले बताए ।

एक पटक पढ्नुहोस