थप कडाइ गर्नेगरी उपत्यकामा एक साता निषेधाज्ञा थप ! के-केमा कडाइ ? हेर्नुहोस् !

काठमाडौँ, कोभिड–१९ सङ्क्रमण जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्नेगरी निषेधको आदेश एक साता थप गर्ने निर्णय गरिएको छ । यसअघि वैशाख १६ देखि २२ (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप कडाइ गर्दै निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो ।

काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीले केही कडाइ गर्ने गरी वैशाख २९ गते राति १२ बजेसम्मका लागि उक्त आदेश थप गरिएको जानकारी दिनुभयो । यसअघिको आदेशमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरीदबिक्रीका लागि बिहान र बेलुका समय तोकेर खुला गरिएकामा अब थपिएका समयमा भने बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको जनाइएको छ । यसपालिको निषेधाज्ञाको कार्यान्वयन तह फितलो भएको गुनासो बढिरहेको छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रजिअले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गरी आज जारी आदेशानुसार फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार÷व्यवसाय एवं कवाडी सङ्कलनमा समेत रोक लगाइएको छ । यसअघि यस्ता पसल निर्बाध रुपमा सञ्चालन भएको थियो । आदेशमा उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपमा १० दिनको क्वारेन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिशका आधारमा गन्तव्यस्थलमा जान दिने भनिएको छ ।

सूचना विभागको पास नभएका पत्रकारको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाएर मात्रै काममा खटिने व्यवस्था गरिएको छ ।

एक पटक पढ्नुहोस