निजी क्षेत्रका सबै उडान स्थगन गर्ने धम्की

काठमाडौँ/  निजी क्षेत्रका सबै उडान स्थगन गर्ने भन्दै व्यवसायीले धम्की दिदैं पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । हवाईसेवा कम्पनीहरुले प्रदान गदै आएका आपत्कालीन उद्धार लगायत नियमित उडान बन्द गरिर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

वायुसेवा सञ्चालक संघ, नेपालले संघसँग आबद्ध सम्पूर्ण हेलिकप्टर प्रदान गदै आएको नियमित उडानहरु भोलिबाट असार ८ गतेबाट स्थगित गर्ने भएको छ ।

संघले आज एक विज्ञप्ति जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी असार १३ गतेदेखि लागू हुने गरी तोकिएको आधार (अपरेटिङ बेस) विमानस्थलमा रात्री बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने र हेलिकप्टर कम्पनीले पनि असार ७ गतेदेखि सोही नियम लागू हुने निर्णयको विरोधमा उडान बन्द गर्ने जनाएको हो ।

‘यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाका लागि स्वयं पर्यटन मन्त्रालय र प्राधिकरण जवाफदेही रहेको जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा छ ।प्राधिकरणले गत आइतबार (असार ५ गते) विज्ञप्ति प्रकाशित गरी हवाइजहाज तथा हेलिकप्टर कम्पनीले रात्री बिसान जहाँ गरिएको हो, भोलिपल्टको आफ्नो पहिलो उडान पनि सोही ठाउँबाट गर्नुपर्ने फरमान जारी गरेको थियो ।

संघले उक्त निर्णय गर्दा सम्बन्धित हवाई सेवा कम्पनीहरुसँग छलफल नगरी भविष्यमा आइपर्ने समस्याहरूप्रति वेवास्ता गरिएको जनाएको छ । ‘एकपक्षीय रुपमा स्वेच्छाचारी निर्णयले वायुसेवा कम्पनीहरूबाट प्रदान गरिने सेवाहरुमा समस्या उत्पन्न हुन गएको तथा निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने अवस्था सिर्जना भएको स्पष्ट पार्न चाहन्छौं,’ संघले विज्ञप्तिमा भनेको छ ।

नेपालको भौगोलिक स्थिति, सीमित बजार, वित्तीय तथा मानव संशाधन, स्रोत साधनको असहज उपलब्धतालगायत चुनौतीहरूको सामना गर्दै अति दुर्गम क्षेत्रमा विभिन्न स्थानहरुमा विपत्, उद्धारलगायतका विविधि सेवाहरु अनवरत रुपमा प्रदान गर्न सम्पूर्ण विमान सेवा कम्पनीहरु प्रतिबद्ध रहेको संघले उल्लेख गरेको छ ।

संघले कोडिभले अर्थतन्त्र र पर्यटन क्षेत्र आक्रान्त हुँदा पनि राज्यबाट विशेष राहत केही उपलब्ध नहुँदा समेत राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको परिपालनाका सािथ यात्रुको सुरक्षालाई केन्द्रमा राखी निरन्तर सेवा प्रदान गरिरहेकोमा प्राधिकरणबाट अनपेक्षित रुपमा जारी प्रावधानले विभिन्न विमान सेवा कम्पनीहरुले प्रदान गर्दै आएको सेवाहरुमा अवरोध उत्पन्न हुन गएको जनाएको छ ।

क्षेत्रीय विमानस्थलहरुको बढोत्तरी तथा स्तरोन्नति भए पनि हवाइजहाज तथा हेलिकप्टर मर्मत सम्भार तथा चेकचाँज गर्ने प्राविधिक पक्षलगायत अन्य विविध भौतिक पूर्वाधारहरुको विकास भई नसकेकाले हालको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक रात्री विश्रम गरी उडान भर्न असमर्थ रहेको संघले जनाएको छ ।

एक पटक पढ्नुहोस