रवीन्द्र पुरी फाउन्डेसनद्वारा नेपाल भोकेसनल सेन्टरलाई एक सय सात रोपनी जग्गा हस्तान्तरण गरिएको छ । पनौती नगरपालिका– ४ डिहीगाउँमा बहुआयामिक भवन निर्माणका लागि फाउन्डेसनले जग्गा हस्तान्तरण गरेको हो । सेन्टरको पहिलो बहुआयामिक भवन (अत्याधुनिक भवन) निर्माणका लागि जर्मन नागरिक हान्स ज्वाकिम स्नाइडरले सात करोड रुपैयाँ सहयोग गरेका छन् । सोही कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाल भोकेसनल सेन्टरको बहुउद्देशीय भवन शिलान्यास गरेका छन् । बिहीबार काभ्रेको पनौती नगरपालिका– ४ स्थित डिहीगाउँमा बन्न लागेकोे भवनको पूर्वराष्ट्रपति यादवले शिलान्यास गरेका हुन् । भवनको शिलान्यास गर्दै पूर्वराष्ट्रपति डा. यादवले शिक्षित नागरिक नभए राष्ट्र विकास नहुने बताएका छन् । देशमा शिक्षित र दक्ष जनशक्ति तयार गर्न सेन्टरले योगदान दिइरहेको उनको भनाइ थियो । ‘शिक्षित नागरिक जहाँ हुँदैन राष्ट्र विकास हुँदैन । युवाहरूलाई शिक्षित र दक्ष बनाउन यस भोकेसनल सेन्टर लागिपर्छ भन्ने विश्वास छ,’ डा. यादवले भने, ‘दक्ष जनशक्ति उत्पादन भएपछि देशको बेरोजगार घट्नेछ ।’ 
कार्यक्रममा पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको अवस्थामा ऐतिहासिक कलाकृति निर्माणका लागि तालिम दिने संस्था पनौतीमा स्थापना हुनु आवश्यक रहेको बताए । प्राविधिक तथा व्यावसायिक तालिम परिषद्सँग आबद्ध नेपाल भोकेसनल एकेडेमी एक सेवामूलक संस्था भएको ऐकेडेमीका अध्यक्ष रवीन्द्र पुरीले बताए । ‘हाम्रो मुख्य उद्देश्य भन्नु नै अहिलेका युवा जमातलाई तालिम दिई रोजगारी प्रदान गर्नु हो । वर्तमान परिवेशलाई मध्यनजर राख्दै हामीले विशेषतः परम्परागत घर निर्माणसम्बन्धी दक्ष जनशक्ति उत्पादनमा विशेष जोड दिएका छौँ,’ पुरीले भने ।
