काठमाडौं / देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार २८२ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या हालसम्म ९ लाख ८५ हजार ८०८ पुगेको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा संक्रमितको सङ्ख्या एक लाख ४२ हजार ३६३ रहेको छ । पछिल्लो समय थप २६९ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी पछिल्लो समय २८ हजार २५६ जनाले खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या चार हजार ३५६ रहेको छ । जसमध्ये होम आइसोलेशनमा चार हजार २०३, संस्थागत आइसोलेशनमा १५३, आइसीयूमा ३४ र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको बताइएको छ ।
