हेटौंडा/ बागमती प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठी २०७९ सम्पन्न भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा “बागमती प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठी–२०७९” सम्पन्न भएको हो ।
कार्यक्रममा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले कार्यक्रममा उद्घाटन गदै पछिल्लो समय अपराधिक प्रवृत्तिमा परिवर्तन हुँदै गईरहेकोले अनुसन्धान अधिकृतको क्षमता विकास एवं प्रविधिमुलक अपराध अनुसन्धानका निमित्त अनुसन्धानमा प्रयोग हुने स्रोत साधनको व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।
त्यसैगरी सामान्य किसिमका अपराधमा संलग्न कसुरदारलाई वैकल्पिक कारागारको अवधारणा अनुसार त्यस्ता व्यक्तिहरुलाई राज्यका विभिन्न विकास निर्माणका कार्यमा लगाउन सकिने र यसका लागि प्रदेश मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको समेत उनले बताए । कार्यक्रममा बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता श्याम नारायण श्रेष्ठले पछिल्लो समय अपराधको ट्रेनमा परिवर्तन र यसको क्षेत्र फैलिदै गईरहेकोले प्रहरीलाई थप चुनौति थपिएको हुँदा प्रहरीले समेत आफुलाई सोही अनुसार तयारी अवस्थामा राख्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले अपराध अनुसन्धान गर्ने तल्लो ईकाईमा बास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा कोशेढुंगाको रुपमा यस गोष्ठी रहनेमा आफु ढुक्क रहेको बताए । उनले हरेक नागरिकले आफ्ना सन्ततिलाई नैतिक शिक्षा अनिवार्य दिनुपर्ने विषयमा समेत जोड दिए ।
कार्यक्रममा चितवन जिल्लाका जिल्ला न्यायाधिश रितेन्द्र थापाले अपराध अनुसन्धानका तिन अवयवहरु अनुसन्धान (प्रहरी), अभियोजन (सरकारी वकिल) र न्यायालयवीच निरन्तर समन्वय सहकार्य हुनुपर्नेमा जोड दिए ।अनुसन्धाननै न्याय निरुपण (फैसलाको) प्रमुख आधार भएको हुँदा प्रहरीले यसलाई बढी संवेदनशिल भई अनुसन्धानमा विशेष ध्यान दिनुपर्ने उनले बताए ।
कार्यक्रमा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अपराध अनुसन्धान क्षेत्रलाई विशिष्टिकृत गरी मुद्धा शाखामा काम गर्ने प्रहरी कर्मचारीहरुलाई मोटिभेसेसन गनुपर्नेमा जोड दिए । कानुनमा व्यवस्था गरिएका कार्यहरु गर्नको लागि राज्यले सहयोग गरेमा मात्र प्रविधिमैत्री अनुसन्धानमा सहयोग पुग्ने हुँदा सरकारले अपराध अनुसन्धानका क्षेत्रमा सहयोग गर्नुपर्ने अपरिहार्य रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्यले अपराध गर्ने बदलिदो शैली एवं आवरण, फैलदो अपराधिक संजालको नेटवर्क तथा अन्तराष्ट्रिय अपराध र संगठित अपराधकोे संख्यामा उलेख्य रुपमा वृद्धि हुँदै गईरहेको हुँदा प्रहरीले प्रविधिमुलक अपराध अनुसन्धानमा जोड दिई अपराध अनुसन्धानमा प्रमुख तिन पिल्लरको रुपमा रहेको अनुसन्धान, अभियोजन र न्याय निरुपण एक आपसमा समन्वय सहकार्य मार्फत मात्र पिडितले न्याय र वास्तविक पिडकले सजाय पाउने कुरामा जोड दिईन् ।
कार्यक्रममा समिक्षा गोष्ठीको प्रमुख उद्देश्य अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र त्यसलाई समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, बागमती प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने ईकाईहरुको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तरकार्यालयवीच समन्वयको विकास गर्नु सम्बन्धी विषयमा छलफल भएको थियो ।
कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका ६ वटा जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले अपराध अनुसन्धानको समग्र बस्तुस्थिति र अनुसन्धानमा गरिएका नविन प्रयोगहरुको विषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरु, संचारकर्मीहरु लगायत बागमती प्रदेश अन्तर्गत मुद्धा चल्ने ईकाईका प्रहरी एवं अनुसन्धान अधिकृतहरुको उपस्थिति रहेको थियो ।
