उदयपुर र गुल्मीमा भीरबाट गाडी खस्दा १५ यात्रुको मृत्यु

सोमबार गुल्मी र उदयपुरमा भएका सवारी दुर्घटनामा परी १५ यात्रुको ज्यान गएको छ। दुबै जिल्लामा गाडी भीरबाट खस्दा ११ यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ यात्रुबाहक माइक्रो बस भिरबाट खस्दा ७ यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

बुटवलबाट सदरमुकाम तम्घास जाँदै गरेको बा ४ ख ५५०१ नम्बरको माइक्रोबस दिउँसो सवा १ बजेतिर भिरबाट झण्डै २ सय मिटर तल खसेको थियो।

यता उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ टाटा सुमो बेतिनीदेखि चार किलोमिटर टाढा लप्सीभन्ज्याङको भीरमा खस्दा ८ जना मृत्यु भएको छ।

उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले दिएको जानकारी अनुसार दुर्घटना चालक र एक यात्रु घाइते भएका छन्। घाइतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको छ।

गत शनिबार मात्रै राजविराजबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खस्दा ३१ यात्रुको ज्यान गएको थियो।

(सेतो पाटि बाट साभार )

एक पटक पढ्नुहोस