सडक बन्यो मृत्युमार्ग, दुई भयानक दुर्घटनामा १८ को मृत्यु (नामावलीसहित)

काठमाडौं, १३ कात्तिक— सडक दुर्घटनामा उदयपुर र गुल्मीमा गरी आज एकैदिन १८ यात्रुको मृत्यु भएको छ । धादिङमा ३१ जनाको ज्यान जाने गरी शनिबार भएको दुर्घटना सेलाउन नपाउँदै आज फेरि दुई ठूला दुर्घटना भएको हो । पछिल्लो समय सडकमार्फत मृत्यु मार्ग जस्तै बन्न थालेको छ ।
उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो जिप सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा आज दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी पापरगाडा–४ का राधेश्याम महतो, कविलाश–३ का गंगाराम साह र बैखा–६ का नेपाली सेनाका जवान रुपेन्द्र बर्मा, ओखलढुंगा सेर्नाबेँसी–३ का ईश्वरीप्रसाद भट्टराई, वरुणेश्वर–६ का दीपक भित्रिकोटी, उदयपुरको रामपुर ठोक्सिला–७ का सन्देश किराँती तथा जिप चालक कटारी नगरपालिका–२ का हरि कार्की रहेका छन् ।

यस्तै, ठेगाना नखुलेकी अन्जना राई र मिथिलेश साहको पनि सनाखत भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुमारी भित्रिकोटीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । मृतकका शव कटारी अस्पतालमा राखिएको छ ।
यता बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको माइक्रोबस गुल्मीको वीरवासमा दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नंको माइक्रोबस गुल्मी दरबार गाउँपालिका–४ मा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा नौजनाको मृत्यु भएको र आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घासका लागि छुटेपनि बीचमा यात्रु थपेको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र एकको उपचारका क्रममा तथा दुईजनाको पाल्पा लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी तीन महिला र ६ पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये चारजनाको सनाखत भएको छ । सनाखत हुनेमा गुल्मी रेसुङ्गा नगरपालिका–८ मा पसल गर्ने सुमित्रा दर्लामी, अर्घाखाँची भगवतीका विष्णु पाण्डेय र चालक भीम घर्ती तथा अर्जै, गुल्मीका लालबहादुर मुखिया रहेका छन् ।

गाडीका चालकको पनि पाल्पा लैजानेक्रममा मृत्यु भएको छ । सनाखतका लागि शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए । घाइते हुनेहरुमा एक महिला, पाँच पुरुष र दुईजना बालक रहेको प्रहरीले जनाएको छ ।

गाडीमा सवार चालकसहित १७ जना रहेका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । दुर्घटनामा परेको गाडी सडकबाट करिब ३०० मिटरभन्दा बढी तल खसेको थियो ।

गाडीको तीव्रगति र गाडीलाई साइड दिनेक्रममा दुर्घटनामा परेको घटनास्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपति प्रेमप्रकाश सिग्देलले जानकारी दिए ।

(लोक पथ बारा साभार )

एक पटक पढ्नुहोस