काठमाडौं/ शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको हो ।जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।
रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
पाटन दरबार क्षेत्र नजिक बखुम्बहाल निवासी सँस्कृतिविद जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुन् ।२०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो ।
तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र कानुनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइबराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गरेका थिए ।२०७० सालमा उनी पद्मश्री साधनाबाट सम्मानित भएका थिए । नेपाल सरकारले उनलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’बाट मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो ।