राप्रपा नेपालका ‘पाँच भाइले प्रचण्डलाई भेटे

काठमाडौ/  चुनावको समयमा राप्रपा नेपालका पाँच भाईले प्रचण्डलाई भेटेका छन् । केही पहिला मात्रै राप्रपा नेपामा प्रवेश गरेका उपाध्यक्ष श्याम तिमल्सिना र सहमहामन्त्री दमन बस्नेत सहितका पदाधिकारी अध्यक्ष प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार पुगेका हुन् ।

राप्रपाका सहमहामन्त्री बस्नेतले आफूहरुले अध्यक्ष प्रचण्डलाई भेटेको पुष्टि गरे । खुलमटारबाटै बोलावट भएपछि राजनीतिक भेटवार्ता र तिहारको शुभकामना आदानप्रदानका लागि आफूसहित उपाध्यक्ष तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्य खुमलटार गएको उनको भनाइ छ ।

सो क्रमममा राप्रपा नेपालका नेताहरुले प्रचण्ड राष्ट्रिय नेता भएको उल्लेख गर्दै आगामी चुनावमा जितका लागि शुभकामना दिएका थिए । यस्तै उनीहरुले प्रचण्ड, माओवादी र सत्ता गठबन्धनको पक्षमा सकारात्मक प्रतिक्रिया दिएका थिए । ‘हाम्रो क्षेत्रबाट राजनीतिक रुपले सहयोग हुने कुरा हामीले राख्यौँ’, अर्का एक पदाधिकारीले भने । ‘दीपावलीको शुभकामना आदान प्रदान भयो । सो क्रममा प्रचण्डले संक्षिप्तमा आफ्नो भनाइ पनि राख्नु भयो ।

उहाँको कुराले हामी प्रभावित भइयो ।’ प्रचण्डले राप्रपाका नेताहरुसँगको भेटमा गोरखाको गरिमा उचो राख्नका लागि आफू त्यहाँबाट चुनाव लड्न लागेको जानकारी दिएका थिए । उनले राप्रपा नेपालसँग केही एजेण्डाहरु नमिले पनि राष्ट्र विकास गर्नुपर्छ, राष्ट्र दीगो हुनुपर्छ भन्नेमा दुबै पार्टीको भावना मिल्ने बताएका थिए ।

यस्तै प्रचण्डले वाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्न आग्रह गर्दै परिवर्तनको बाहक शक्तिलाई जिताउन आग्रह समेत गरेको सोही भेटमा सहभागी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले बताए । सो क्रममा पार्टीकी उपमहासचिव पम्फा भुसाललगायतको पनि सहभागिता थियो ।

एक पटक पढ्नुहोस