काठमाडौं/ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को छैटौं संस्करण आगामी चैत २ गतेदेखि ६ गतेसम्म हुने भएको छ । निफका अध्यक्ष केपी पाठकका अनुसार यस पटक महोत्सवमा नेपाल सहित ३५ देशका ९५ वटा फिल्म प्रदर्शन गरिने बताए । ती फिल्म संसारका ५५ देशबाट प्राप्त ५ सय बढी फिल्मबाट छानिएको उनले जानकारी दिए । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महोत्सवमा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक गरिएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुको ७ विधामा १४ पुरस्कार वितरण गरिने छ । यस पटकबाट निफका प्रतिस्पर्धी फिल्म सिनेमा हलमा प्रदर्शन गरिने छ । देशको ठूलो मल्टिप्लेक्स च्यानल क्युएफएक्स सिनेमाको छाया सेन्टर सिभिल मल, लविम मल र भक्तपुर हलमा प्रदर्शन हुने उनले जानकारी दिए ।
‘विगतमा हामीले महोत्सवका फिल्म गुणस्तरीय रूपमा प्रदर्शन भएन भन्ने गुनासो सुन्दै आएका छौं। कहिले साउण्ड राम्रो भएन त कहिले स्क्रिन राम्रो भएन । यस्तो गुनासो नहोस् भनेर हामीले यसपालि सिनेमा हलमै फिल्म प्रदर्शन गर्ने योजना बनाएका हौं,’ अध्यक्ष पाठकले भने ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर शाह, दीपाश्री निरौला, गौरी मल्ल, निर्मल शर्मा, रेजिना उप्रेती, सरिता गिरी लगायत फिल्मकर्मीहरुको उपस्थित रहेको थियो ।
