काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक नजिकिदैं गर्दा पार्टीभित्रको भांडभैलो पनि खुलेरै बाहिर आउन थालेका छन् । विधानअनुसार केन्द्रीय समितिको बैठक प्रत्येक दुई÷दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बल्ल मंगलबारका लागि बैठक बोलाइएको छ । बैठक बस्ने तय भए पनि विावदका कारण दुई दिनअघिसम्म एजेण्डा निश्चित गरिएको छैन ।पार्टीभित्रको आन्तरिक विवादकै कारण सभापति शेरबहादुर देउवाले बैठक टार्दै आएका थिए । तर, बेला धेरै घर्किसकेको बैठक बोलाउन केन्द्रीय सदसस्यहरूले धमाधम निवेदन दिन थालेपछि देउवा बैठक बोलाउन बाध्य भएका हुन् ।
देउवाको कारणले नीति महाधिवेशन हुन नसकेको निष्कर्षसहित महामन्त्री थापाले विशेष महाविधेशनको माग गर्न थालेका छन् । देउवाबाट पार्टी नचल्ने भन्दै नेतृत्व रुपान्तरण गर्नुपर्ने उनको अभियान छ । उनले संसदीय दलको नेताबाट समेत हटाउनेगरी गृहकार्य गरिरहेका छन् । शनिबार विराटनगर पुगेका थापाले नेतृत्व परिवर्तनका लागि आफूले अनुकुल समय पर्खिरहेको बताएका छन् ।बैठकमा संस्थापनविरुद्ध खरोरूपमा उत्रने थापापक्षधरले अभियान चलाइरहँदा देउवा भने समासामयिक विषयमा छलफल गरेर बैठक टुंग्याउने दाउमा छन् । गत वर्ष भएका तीनै तहका निर्वाचन, राष्ट्रपति निर्वाचन, गठबन्धनलगायत समसायिक विषयमा मात्र छलफल गरेर टुंग्याउने मनसाय सभापति देउवा पक्षधरको भए पनि महामन्त्री द्वय थापा, शर्मालगायत युवा नेताहरू नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, नीति महाधिवेशन लगायतका विषय उठाएर संस्थापनलाई ¥याख¥याख्ती पार्ने पक्षमा रहेका छन् ।
नेतृत्वमाथि महामन्त्री थापाले दबाब बढाउन खोज्दा इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला भने रणनीतिक रुपमा पछिल्लो समय मौन खेखिएका छन् ।सरकारले एकपछि अर्को गर्दै भ्रष्टाचारको फाइल खोल्दा ती मुद्दामा कांग्रेसका शीर्ष नेताहरु जोडिएका छन् । त्यसप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उत्साहित देखिँदा कांग्रेस नेतृत्व सन्तुष्ट छैन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सभापति देउवा निकटका बालकृष्ण खाण पुर्पक्षका लागि थुनामा छन् । उनी पक्राउ परेलगत्तै इतर पक्षले खाणलाई निलम्बन गर्न उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन र शर्मासहितका नेताहरु उभिए । तर, कांग्रेसमा देउवाकै निर्णय हावी हुने भएकाले त्यसलाई त्यसै टारे ।अहिले केन्द्रीय समितिको बैठकमा पनि यो विषय नउठोस् भन्ने शीर्ष तहबाटै सहमति गराउन प्रयत्न गरिरहेका छन् । यो प्रकरणको अनुसन्धान अघि बढ्दै जाँदा देउवापत्नी आरजु राणा पनि तानिसक्नेमा देउवा सचेत छन् ।बैठकको एजेण्डा नै नबनेपछि विभिन्न प्रकरणमा नाम मुछिएका नेताहरुबारे बैठकमा कुरा उठ्नसक्ने कांग्रेस नेताहरू बताउँछन् ।नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सन्देश शर्माले देउवा पत्नी आरजु राणालाई पैसा बुझाएको भनिएको अडिओ मेल खाएपछि देउवा हच्किएका छन् । आरजू आफैंले परीक्षणका लागि प्रहरीमा उजुरी दिएपछि छानबि गर्दा संलग्न मुख्य गिरोहको आवाज रहेको पुष्टि भइसकेको छ ।
यस्तै देउवा निकट अर्का नेता पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका छन् । सरकारले भूटानी शरणार्थीपछि यो प्रकरणको अहिले छानबिन अघि बढाइरहेको छ ।
यस्तै कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङ भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दा विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् ।भ्रष्टाचार काण्डमा दोषी ठहर भएपछि सांसद पदबाट निलम्बित भए पनि गुरुङलाई कांग्रेसले केन्द्रीय समिति सदस्यबाट निलम्बन गरेको छैन । संयोग नै मान्नुपर्छ अहिलेसम्म भ्रष्टाचारको आरोप लागेका नेताहरु देउवा निकटकै देखिएका छन् ।
त्यसो त अदालतमा गइसकेका विषयमा पार्टी बैठकमा छलफल गर्नुको अर्थ नहुने देउवा निकट रहेका नेताहरू बताउँछन् ।
कांग्रेसले खुमबहादुर खड्का, गोविन्दराज जोशी र चिरञ्जीवी वाग्ले पनि भ्रष्टाचारको आरोप लाग्दा पनि कारबाही गरेको थिएन । अहिले त्यही परम्परालाई बोक्दै देउवाले आफू निकट नेताहरुलाई पार्टीभित्रैबाट कारबाहीको दबाब आएपनि मौन बसेका छन् ।
