काभ्रे । जिल्लाको पनौती नगरपालिकाको वडा नं. ११ बल्थलीमा असोज २४ गते बृहत स्वास्थ्य प्रदर्शन भएको छ । विद्यार्थीहरुद्वारा स्वस्थ जीवन यापनका लागि स्वास्थ्यमा अनिवार्य रहेको विविध विषयलाई लिएर प्रदर्शन गरिएको थियो । ११ नं. वडा कार्यालय, बल्थली स्वास्थ्य चौकी र वडा बालमैत्री समितिको संयुक्त आयोजनामा संचालित कार्यक्रम वडाअध्यक्ष विपेन्द्र लामाको सभाध्यक्षतामा, नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्य र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य ज्यूको विशिष्ट आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा बल्थलीका ४ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुले १ हप्तादेखि स्वस्थ जीवनकालागि अति आवश्यक सरसफाई, खानपान, पोषण, पर्यावरणीय सफाई, मुटु तथा किडनी स्वस्थ राख्न मानिसले पहल गर्नुपर्ने विषयहरुमाथि प्रदर्शन तथा विस्तृत प्रस्तुतिकरण गरेका थिए । विद्यार्थीहरुले स्वास्थ्यका विविध विषयमा छलफल गरी प्रदर्शनीका लागि विविध हस्त सामाग्रीहरु तयार गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि रामप्रसाद आचार्यले यस्ता कार्यक्रमले बालबालिकाको व्यक्तित्व विकासमा सहयोग पु¥याउने विषयमा चर्चा गर्नु भयो । नगर प्रमुख रामशरण भण्डारीले यो कार्यक्रम बालमैत्री नगरपालिकाको लागि अति आवश्यक रहेको र यस्ता कार्यक्रमले बालबालिकाको शिप तथा व्यक्तित्व विकासमा सहयोग पुग्ने बताउनु भयो । साथै नगरले बालबालिकाहरुको पक्षमा कार्यक्रम गरिरहेको जानकारी समेत दिनुभयो । जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमको सुरुवात गरेका नगर प्रमुखले बालबालिकाको यस्ता गतिविधिले नगरको दिगो विकासका लागि निकै सकारात्मक बाटो खोल्ने पनि बताउनु भयो । वृहत स्वास्थ्य प्रदर्शनमा बालबालिकाले स्वास्थ्यसँग सम्बन्धित रहेर गरेको कृयाकलापको खुलेर प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष विपेन्द्र लामाले बालबालिका भविष्यका कर्णधार भएकाले ११ नं. वडाले यस विषयलाई गम्भिर रुपमा लिएको र बालबालिकाको लागि वडाले बेलाबेला विभिन्न कार्यक्रम गर्ने गरेको जानकारी गराउनु भयो ।
साथै यस्ता कार्यक्रमले वडामा नेतृत्व विकासमा समेत सकारात्मक प्रभाव पर्ने विषयमा प्रष्ट पार्नु भयो । कमलादेवी जनप्रिय मा.वि., लड्केश्वर आधारभूत विद्यालय, नेपाने, देविस्थान, कोलभञ्ज्याङ्गका गरी जम्मा ४ विद्यालयका गरी करिब ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।