विकराल बन्दै बलात्कार घटना, नेपालगन्जमा १४ वर्षीय बालिका बलात्कृत

नेपालगन्ज, २६ माघ । नेपालगन्जको पुष्पलाल चोक नजिक रहेको होटल दरबारमा बिहीबार राती १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर विष्टले बालिका बलात्कृत भएको पुष्टी गरेका छन् । ‘बालिकाले आफुमाथि बलात्कार भएको भनेर उजुरी गरेकी छिन्’, प्रहरी निरीक्षक विष्टले भने, ‘अहिले बालिकालाई मेडिकलका लागि अस्पताल पठाएका छौं ।’

घटनाबारे अनुसन्धान गरेका एक प्रहरी अधिकृतले भने,‘ प्रराम्भिक अनुसन्धान अनुसार बालिका बलात्कृत भएको देखिन्छ ।’

प्रहरीले बताए अनुसार बलात्कृत बालिका बाँके बैजानाथ गाउँपालिका चिसापानी कि हुन् । बालिकासँगै अन्य एक युवती पनि रहेकी थिइन् । बिहीबार राती साढे १० बजेतिर बालिकाले युवकले आफुलाई होटलको कोठामा जबरजस्ती बलात्कार गरेको जानकारी दिइन् ।

करिब ११ बजे कोहलपुरबाट भाग्दै गरेको अवस्थामा बलात्कारको आरोप लागेका युवकका साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बलात्कारको आरोप लागेका युवक भने फरार रहेका छन् । प्रहरीका अनुसार होटलको २१० नम्बर कोठामा बालिका बलात्कृत भएकी हुन् ।
बलात्कार भएको होटललाई नियन्त्रणमा लिएर मध्यरातीदेखि नै जिल्ला प्रहरी कार्यालय बाँकेको अनुसन्धान थालेको छ । होटलको कोठा नम्बर २१० बाट भित्री वस्त्र र बियरका बोत्तलहरु बरामद गरिएको प्रहरी निरीक्षक विष्टले जानकारी दिए । युवकहरुले होटलका २ वटा कोठाहरु बुक गरेका थिए ।

एक पटक पढ्नुहोस