काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुसख्याक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।भारतीय विश्वविद्यालय सघं (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् ।
“शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ”, प्रधानमन्त्री प्रचण्डले भने, “हामीले विश्वव्यापी रूपमा अवसर खोज्नेहरुका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ ।” उनले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण बारेमा पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याए ।कार्यक्रममा भारतीय विश्वविद्यालय संघका अध्यक्ष तथा विज्ञान एवं प्रौद्योगिकी विश्वविद्यालय मेघालयका उपकुलपति प्रा.डा जी डी शर्माले अध्यक्षीय सम्बोधन गरेका थिए ।

भारतीय विश्वविद्यालय संघका उपाध्यक्ष एवं क्षत्रपति साहुजी महाराज विश्विविद्यालय कानपुरका उपकुलपति विनय कुमार पाठक, भारतीय विश्वविद्यालय संघकी महासचिव पंकज मित्तल तथा काठमाण्डौ विश्वविद्यालयका उपकुलपति भोला थापा, सस्थापक उपकुलपति सुरेशराज शर्मा, रजिस्ट्रार अच्युत वाग्लेले सम्बोधन गरेका थिए ।
सभामा विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा “भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण” मूल–विषय रहेको उक्त सभामा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुने बताईएको छ । कार्यक्रममा नेपाल, भारत, बाङ्लादेश, मलेसिया, थाइल्यान्ड, लगायत देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरुको उपस्थिति छ ।
भारत सहित दक्षिणपूर्वी एसियाली क्षेत्र, युरोप, अफ्रिका र अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका २३७ जनाको सहभागिता रहेको केयूले जनाएको छ ।
