काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी काम गर्ने निर्देशन दिएका छन् । आ–आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न समेत उनले आग्रह गरेका छन् ।
हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिदै उनले यस्तो बताएका हुन् ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८० एवम् कार्य सम्पादन सम्झौता अनुरूप सांगठनिक लक्ष्य प्राप्तिको लागि सुम्पिएको जिम्मेवारी पूरा गर्न आ–आफ्नो कार्यक्षेत्रमा सामुहिक भावनाका साथ गुणत्मक काम गर्नुपर्ने समेत उनले आग्रह गरे ।
संगठनलाई सुधार गर्न, थप सुदृढ एवम् बलियो बनाउन तथा श्रीवृद्धि गर्नका लगि सबैको साथ सहयोग आवश्यक रहेको भन्दै व्यावसायिक स्वार्थलाई आत्मसाथ गरी निष्ठावान, इमानदार एवम् सिर्जनशील भई जनपक्षिय काम गर्न समेतच निर्देशन दिएका छन् ।
मिटरव्याजी, लागूऔषध तथा अन्य तस्करी नियन्त्रणको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन तथा त्यस्ता गतिविधि विरूद्ध सचेतना अभिवृद्धि गर्न मातहत कार्यालयहरूलाई समेत क्रियाशील बनाउन थप सक्रिय हुनुपर्नेमा उनको भनाई थियो ।
यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका थिए ।
