After header

काभ्रेका दुग्ध उत्पादक कृषकहरुले बुझाए आन्दोलन सहितको ज्ञापनपत्र

काभ्रे । काभ्रेका किसानले करीब चार महिना देखि दुग्ध भुक्तानी नपाएको भन्दै आज सोमबार जिल्ला प्रशासन कार्यालय धुलिखेलमा ज्ञापनपत्र बुझाएका छन् ।दूधको पैसा समयमा नआएपछि काभ्रेका दूग्ध उत्पादक किसानहरुले आन्दोलनका कार्यक्रम तय गरेका छन् । काभ्रे जिल्ला दुग्ध उत्पादन सहकारी सघंको आयोजनमा आज प्रमुख जिल्ला अधिकारीलाई विरोध सहितको ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाएका हुन् ।

दूग्ध उत्पादक जिल्ला संघ काभे्रका अध्यक्ष नारायणप्रसाद बडाल, केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य केशवप्रसाद सापकोटा र केन्द्रिय दुग्ध सहकारी संस्था लिमिटेडका लेखा सदस्य शिवप्रसाद कोईरालाले र किसान सघं काभ्रेका अध्यक्ष गोपाल बहादुर तिमल्सिनाको नेतृत्वमा आज प्रमुख जिल्ला अधिकारीलाई विरोध सहितको ज्ञापनपत्र बुझाएका छन् ।

अध्यक्ष वडालका अनुसार काभ्रे दूध उत्पादक किसानहरूले फागुन १४ गते जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताए । त्यस्तै दूध उत्पादक किसानहरूले १७ गते काभ्रेको बनेपामा शान्ति पूर्ण रुपमा चक्काजाम गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गराउने समेत उनले बताए ।

फागुन २१ गते देखि माईतिघर मण्डलामा देशभरिका कृषक, दुग्ध उत्पादक सहकारी संघ संस्थाको अगुवाईमा धर्ना तथा विरोध कार्यक्रमहरु माग पुरा नभएसम्म जारी राख्ने उनले बताए । यतिले सम्म पनि सरकारले किसानको माग पूरा गर्न नसके सिहदबार घेर्ने समेत उनले चेतावनी दिएका छन् ।

दूध बेचेको पैसा समयमा डेरीहरूले भुक्तानी नगरेका कारण काभ्रेमा दूध उत्पादनमा सक्रिय किसानहरूले पशुलाई दाना खुवाउने पैसा समेत नभएको गुनासो गरेका छन् । दुध विक्रिबाट प्राप्त हुने भुक्तानी रकम नपाउनाले कृषकहरुलाई पशु आहारा जस्तै घाँस, पराल, भुसा, दाना, चोकर, ब्रान्ड, खरिद गरी खुवाउन नसक्ने अवस्था आएको किसानहरुले गुनोसो गरेका छन् । विगत चार महिनादेखि दूधबिक्री गरेको पैसा नपाएपछि व्यावसायिक रुपमा पशुपालनमा लागेका किसानहरूलाई घर चलाउन नै समस्या भएपछि उनीहरुले आन्दोलन गर्न बाध्य भएको किसानहरूले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र बुझाउँदै अध्यक्ष नारायण बडालले समस्या र आन्दोलनको बाध्यता सहितका बारेमा जानकारी गराएका थिए । ज्ञापनपत्र बुझ्दै प्रजिअ शर्माले किसानको समस्या अवगतै रहेको बताउदै काभ्रेका किसानमा माग जस्ताको तस्तै सम्बिन्धत निकायलाइ्र्र्र ध्यानाकर्षण गराउने बताईन् । यसका लागि आफू लगायत सबैले किसानका पक्षमा पहल गर्ने समेत उनले प्रतिवद्धता जनाएकी छन् ।

काभ्रेपलान्चोक जिल्ला दुग्ध उत्पादन तथा प्रशोधन उद्योग नेपालमै पहिलो वि.स.२००९ सालमा नै सुरु भएको जिल्ला हो । यहा उत्पादित दैनिक तिन लाख लिटर दुध स्थानिय बजार सहित काठमाडौ, भक्तपुर, ललितपुर जिल्लामा खपत भैरहेको छ ।

एक पटक पढ्नुहोस