धनगढी — कैलालीको घोडाघोडी नगरपालिका देउकलीमा बिहीबार बोक्सी आरोपमा युवतीलाई बर्बर यातना दिइएको घटनामा संलग्नमाथि प्रशासनले मुद्दा चलाउने तयारी गरेको छ । नगरपालिका–५, देउकलीकी १८ वर्षीया राधा चौधरीलाई बोक्सी आरोपमा ६ घण्टासम्म निर्घात कुटपिट गरेर यातना दिइएको थियो । सख्त घाइते चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
‘मुद्दा चलाउने तयारी भइरहेको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘जघन्य अपराधअन्तर्गत घटनामा संलग्न सबैलाई कारबाही हुन्छ ।’ प्रहरीले मुख्य आरोपी भोलेबाबा भनिने रामबहादुर चौधरीलाई पुन: पक्राउ गरेको छ । घटनामा संलग्न अन्य सबैको खोजी भइरहेको प्रजिअ रिजालले बताए । काम गरिरहेको समयमा घरबाट राधालाई बाँधेर लैजाने किस्मती चौधरीसहित ७ जनालाई भने शनिबारसम्म पनि पक्राउ गरिएको छैन । प्रहरी नायब उपरीक्षक सागर बोहराले संलग्न सबै स्थानीय बासिन्दा भएकाले आवश्यक अनुसन्धान भइरहेको बताए । घटनालगत्तै इलाका प्रहरी कार्यालय सुख्खडमा मिलापत्र गराएकोमा जिल्ला प्रहरी कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ । घटनालाई ढाकछोप गर्ने उद्देश्यले घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको रोहबरमा मिलापत्र गराई मुख्य अभियुक्त रामबहादुर चौधरीलाई प्रहरीले छाडेको थियो । मिलापत्र गराउने प्रहरी नायब निरीक्षक दिनेश विष्टले जनप्रतिनिधिको रोहबरमा मिलापत्र गराएको तर्क गरे ।