काठमाडौं । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउदै आइएको छ । यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र तथा विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावली लगायत कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको छ ।
यसै अनुरुप आज १७ औं गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना भएको छ । मूल समारोह समितिको आयोजना भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।
समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रीहरूको सहभागिता रहेको थियो। त्यस्तै, सांसदहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, सुरक्षा अंगका प्रमुखहरू सहभागी थिए ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गर्नुभएको थियो भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो।
गणतन्त्र दिवसका अवसरमा सैनिक कवाजका अतिरिक्त विभिन्न साँस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिएको थियो ।
