काठमाडौं । नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालले नियुक्तिपत्र बुझेका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर अर्यालले नियुक्तिपत्र बुझेका हुन् ।आज शुक्रबार सेवा निवृत्त हुन लागेकी मुख्यसचिव लीलादेवी गड्तौलाले अर्याललाई नियुक्तिपत्र हस्तान्तरण गरिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको थियो ।
अर्याल करिब १५ महिना मुख्यसचिव रहनेछन् । २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।